इलाम : रुस युक्रेन युद्धमा मारिएका इलामका गङ्गाराज मोक्तानको परिवारलाई रुस सरकारले ७३ लाख दिने भएको छ । नेपाली दूतावास मार्फत क्षतिपूर्ति पठाइदिने नेपाल सरकारको प्रस्तावमा रुस सरकार तयार भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार अनुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने बताएको छ ।
उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइने जनाइएको छ । त्यसपछि जिल्ला प्रशासन कार्यालय इलाम मार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने बताइएको छ ।
रुसी सेनामा भर्ती भई मृत्युवरण गरेका सबैको परिवारलाई क्षतिपूर्ति दिने गरी रुस तयार भएको हो । स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् ।
तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउने बताइएको छ । यद्यपि, राहत रकम कति हुने भन्ने टुङ्गो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा अहिलेसम्म रुसी सेनामा भर्ती भएका १५० जनाको परिवारले सुरक्षित स्वदेश फिर्ताको लागि निवेदन दिएका छन् ।
इलाम ९ भञ्ज्याङ सुकिलम्बा एयरपोर्ट छेउ घर भएका मोक्तानको कात्तिक २९ गते भाइटिकाको दिन युद्धका क्रममा मृत्यु भएको थियो । उनी लगायत सो देशमा गएका धेरैको मृत्यु भइसकेको छ भने अन्य समेत सुरक्षित नरहेको बताइएको छ ।
प्रतिक्रिया