इटहरीमा चारवटा नगर बस सञ्चालनमा आउने, ६ करोड ३६ लाखमा सम्झौता

विहीबार, १७ फागुन २०८०
नवीन दहाल इटहरी । इटहरीमा आगामी आर्थिक वर्षदेखि नगर बस सञ्चालनमा आउने भएको छ । आर्थिक वर्ष २०८०-८१ देखि इटहरी उपमहानगरपालिकाले ४ वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याउने भएको हो । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ । नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम अगाडि बढिरहेको छ । पोख्रेलको संयोजकत्वमा बनेको नगर बस रुट निर्धारण तथा व्यवस्थापन समितिले नगर बस चल्ने रुटको कार्ययोजना बनाइरहेको उनले बताए । ‘हामीले पहिलो चरणमा केही स्थानमा मात्र रुट हेरेका छौँ । अब फेरि विभिन्न चरणमा स्थलगत रूपमा रुट हेरेर इटहरीका २० वटै वडामा नगर बस पुग्ने गरी रुट निर्धारण गर्नेछौ’ संयोजक पोख्रेलले भने । नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधिको ‘ड्राफ्ट’ मात्र तयार भएको समितिका उपसंयोजक तथा इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले बताए । ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ थापाले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ । नगर बस खरिदको लागि सम्झौता भइसकेको मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए । नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएको प्रमुख भट्टराईले जानकारी दिए । ‘२०८१ सालको साउन ७ गतेभित्र इटहरीमा ४ वटा नगर बस ल्याइसक्नेगरी सम्झौता भएको छ,’ प्रमुख भट्टराईले प्रदेश खबरसगँ भने ।नगर बस अपाङ्ग मैत्री हुने समेत उनले बताए  । गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार