नेपथ्यको कन्सर्ट हेर्न करिब पाँच हजारले खरिद गरे टिकट

सोमबार, २८ फागुन २०८०
इलाम / इलाममा नेपथ्यको साङ्गीतिक कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत्र ३ गते सूर्योदय नगरपालिकाको करफोकमा नेपथ्यको साङ्गीतिक कार्यक्रम हुने भएपछि यसको तयारी तीव्र पारिएको हो । आयोजक नेपाल गुरुङ समाजका हरि गुरुङले तयारी करिब ८० प्रतिशत पुरा भएको बताए । नेपालकै चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते शनिवार बेलुका बजार बाहिरको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको मैदानमा आउने भएको हो । मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल इलाम बजार सडक खण्डमा पर्दछ । नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुँदै विश्वका ठुला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ । नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरूमा ८० भन्दा बढी साङ्गीतिक प्रस्तुति दिइसकेको छ । करफोकको प्रस्तुति पनि केही महिनाअघि मात्र जापान र क्यानाडामा शृङ्खलाबद्ध भ्रमण सम्पन्न भएपछि र अब केही समयमै युरोपको अर्को शृङ्खलाबद्ध कन्सर्ट आयोजना हुनुको मध्यमा आयोजना गर्न लागिएको हो । शनिवारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीन तल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न गर्ने लक्षका साथ काम भइरहेको छ । कन्सर्ट हेर्नका लागि एक हजार एक सय रुपैयाँको टिकट राखिएको छ । कन्सर्टमा मुख्य गायक अमृत गुरुङ, ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् । कन्सर्ट हेर्नका लागि छिमेकी जिल्ला भारतबाट समेत उत्तिकै दर्शकले टिकट काटिसकेको बताइएको छ । जिल्ला बाहिरबाट समेत टिकट बिक्री भइरहेको जनाइएको छ । हालसम्म करिब पाँच हजार टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ । अझै थप पाँच हजार टिकट विक्रि हुने अपेक्षा लिइएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार