पोखरी संरक्षणमा जुटे स्थानीय

मंगलबार, २९ फागुन २०८०
इलाम /  इलामको दक्षिणी क्षेत्र चुलाचुलीका स्थानीय पोखरी संरक्षणमा जुटेका छन् । चुरे वन क्षेत्रमा रहेको घुमाउरो र वातावरणीय महत्वको बिधुवा खोलामा बाँध निर्माण गरी पोखरीको संरक्षण थालिएको हो । चुरे क्षेत्र भएर बग्ने बिधुवा खोलामा रहेको रमणीय क्षेत्रमा बाँध हालेर स्थानीय बासीले पोखरीको निर्माण गरेका छन् । चुलाचुली गाउँपालिकाको सहयोगमा यहाँ पोखरी संरक्षण गरी यसको प्रवर्द्धनका लागि ऐना पोखरी महोत्सव सम्पन्न भएको छ । गत फागुन एक गतेदेखि १० गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम सहित महोत्सव सम्पन्न भएको स्थानीय समाजसेवी गजेन्द्र याख्खाले जानकारी दिए । उनले स्थानीय क्षेत्रको पहिचान झल्कने झाँकी र परिकार पनि महोत्सवमा समावेश गरिएको बताए । सबैभन्दा पहिला त यहाँको पर्यटकीय क्षेत्रको समेत प्रवर्द्धन हुने खालका कार्यक्रम अगाडी बढाइएको बताइएको छ । महोत्सवमा पोखरीको महत्त्व दर्साउने खालका कार्यक्रम सहित राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको समेत उपस्थिति गराइएको थियो । चुलाचुली गाउँपालिकादेखि माङ्गसेबुङ जोड्ने अन्तरपालिका सडक रहेको स्थानलाई व्यवस्थित बनाउन श्रम संस्कृति पार्कको रूपमा विकास गरिएको छ । पोखरी संरक्षणपछि तल्लो तटीय क्षेत्रमा पानीको श्रोत दिगो हुने स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले समग्र चुलाचुलीको पहिचानका लागि पोखरीले आकर्षण थपेको बताए । उनले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने जानकारी दिए । वरिपरि घुमेको खोला क्षेत्रमा टलक्क टल्कने पानी जमेकाले स्थानीयले ऐना पोखरी नामकरण गरेका हुन् । पोखरी आसपासका क्षेत्रमा विभिन्न मूर्ति र पार्क निर्माण गर्ने योजना गाउँपालिकाको रहेको छ । पोखरी क्षेत्र वरिपरि चुरे वन क्षेत्र र देवी स्थान समेत रहेकोले समिति गठन गरेर स्थानीय बासी संरक्षणमा जुटेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार