इलाम धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा

मंगलबार, २९ फागुन २०८०
इलाम / आगामी चैत्र एक गते देखी हुन लागेको इलाम धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यज्ञ शाला निर्माणको काम सहितका तयारी अन्तिम चरणमा पुगेको मङ्गलवार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । इलाम नगरपालिका छ र आठमा रहेको सिंह सिद्ध देवी तथा देवी पञ्चायन मन्दिर सिङफिरिङमा हुने १८ पुराण समापन तथा इलाम धार्मिक महोत्सव सञ्चालन गरिने छ । धार्मिक पर्यटनमा जोड दिँदै जिल्लालाई बहुधार्मिक स्थलका रूपमा विकास गर्नका लागि आयोजना हुँदै आएको १८ पुराणको समापन तथा इलाम धार्मिक महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा लिइएको छ । बहु धर्मको विकासका लागि धार्मिक महोत्सव गर्न लागिएको आयोजक अठार पुराण मूल आयोजक समितिका संयोजक सन्दिप कुमार बुढाथोकीले बताए । वैदिक सनातन धर्मको साझा स्थलका रूपमा इलामलाई विकास गर्नका लागि जिल्लाका विभिन्न शक्ति पीठहरूमा १७ वटा पुराण सम्पन्न भइसकेपछि १८ पुराणको तयारी गरिएको हो । धार्मिक सहिष्णुता, मानव एकता एवम् विश्व शान्तिको सन्देश सहित धार्मिक महोत्सव गर्न लागिएको हो । विशिष्ट धर्मगुरुहरूको उपस्थितिमा भावगत मञ्जरी राधिका दासी, बौद्ध धर्मगुरु खेन रेम्पोछे फुर्तेम्बा शेर्पा, किराँत धर्मगुरु महिंगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन, जगद्गुरु श्रीवालसन्त मोहन शरणदेवचार्य महाराजश्रीको उपस्थिती रहने छ । हाल महोत्सव समापन तथा १८ पुराण समापनका लागि एक हजार ९३ जनाको मूल आयोजक समिति गठन गरिएको आयोजक समितिका सचिव रविन रायले जानकारी दिए । अठार पुराणका लागि १८ वटै मण्डप निर्माण भएका छन् । साथै विभिन्न धर्मगुरुहरूलाई समेत छुट्टै र व्यवस्थित धार्मिक प्रवचनका लागि ठाउँ निर्माण भएको छ । अठार पुराण समापन र इलाम धार्मिक महोत्सवबाट बचेको रकमले बहुधार्मिक सङ्ग्रहालय निर्माण गरिने आयोजक समितिका कोषाध्यक्ष गणेश सुवेदीले बताए । उनका अनुसार जिल्लालाई बहुधार्मिक स्थलका रूपमा विकास गर्न समेत सो सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । चैत्र एक गते सुरु भएर आगामी ९ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सव सफल बनाउन जिल्लावासी नै लागेको आयोजकको भनाई छ । चैत्र एक गते कलश यात्रा सहित जगद्गुरुबाट समुद्घाटन हुने छ । चैत्र दुई गतेबाट दैनिक पाठ पारायण सहित कथा वाचन, झाँकी प्रदर्शन र भजन कीर्तन गरिने छ । चैत्र आठगते १८ लाख एक हजार आठ सय १८ दीप प्रज्वलन गरिने छ । ९ गते विभिन्न कार्यक्रम सहित समापन गरिने छ । आयोजकले सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थितिका लागि आमन्त्रण समेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार