२०१९ सालयता नेपालबाट ३ सय ६० विदेशी अपराधी फरार२६ माघ २०६५ मा ‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिई ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामलाई जेल सजाय तोक्दै सर्वोच्च अदालतले उनीहरूसँग ५३ करोड ६० लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला ग¥यो । तर, उनीहरू फैसला कार्यान्वयन हुनुअघि नै नेपाल छाडेर भागिसकेका थिए । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी फरार भए । कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका अदालतमा चाङ छन् । पारस्परिक कानुनीसम्बन्धी ऐन भए पनि दुई मुलुकबीच सुपुर्दगी सम्झौता नहुँदा ठूलो अपराधमा मुछिएकालाई पक्राउ गरेर नेपाल ल्याउन समस्या हुने गरेको छ । बेलायतस्थित एस्योर्ड रिक्स कम्पनीका ठेकेदार माइकल राइडरबाट ४२ करोड ६० लाख २४ हजार असुल गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सो मुद्दामा १ फागुन २०६८ मा विशेष अदालतबाट प्रमुख ठेकेदार रहेका राइडरलाई २ वर्ष कैद, २८ करोड ४० लाख जरिमाना र राइडरको एस्योर्ड रिस्क कम्पनीबाट १४ करोड २० लाख ८ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने फैसला गरेको थियो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भएका भारतीय नागरिक राजेशकुमार र सुनीत माथुरलाई २ वर्ष कैद सजाय भए पनि उनीहरू पक्राउ पर्न सकेनन् । ओमविक्रम राणा र नेपालस्थित ठेकेदार प्रतिनिधि शम्भू भारतीसँग मिलेर राइडरले सामान डेलिभरी एवं रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको ठहर विशेष अदालतको छ । राइडरले विशेष अदालतबाट हाजिर हुन जारी गरेको म्याद पनि गुजारेको र सर्वोच्चमा पनि पुनरावेदन नगरेका कारण कानुनतः उनका लागि यही फैसला नै अन्तिम भएको छ । सर्वोच्चबाट १६ मंसिर २०६७ मा राजेशकुमार र माथुरलाई जेल सजायसहित बिगो असुल्ने फैसला भएको थियो । भ्रष्टाचारकै अभियोगमा १३ कात्तिक २०६२ मा भएको अन्तिम फैसलाअनुरूप भारतीय नागरिक एपाची गाउन्डर चन्दन र यूएईका नागरिक पुलिकन रवीन्द्रनबाट १ करोड ४६ लाख रुपैयाँ असुल्न बाँकी छ । १५ चैत २०७३ मा भएको फैसलानुसार ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार ठहर भएका चिनियाँ नागरिक चुआन डोङफेङबाट ५ करोड ८७ लाख ७९ हजार रुपैयाँ असुल्न बाँकी छ । सोही मितिको फैसलाअनुरूप ट्रान्सफर्मर खरिदसम्बन्धी भ्रष्टाचारमा अर्का चिनियाँ ठेकेदारबाट पनि ११ करोड ५१ लाख ४४ हजार रुपैयाँ असुल्न बाँकी छ । यता, अमेरिकी डलरको अवैध कारोबार ठहर भई ८६ लाख ८४ हजार जरिमाना तोकिएका नयाँ दिल्लीका मोहन धारीवाल पनि उतै छन् । कति छन् नेपालमा विदेशी कैदीबन्दी ? कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा १२ मुलुकका १ हजार ४ सय ५ जना विदेशी कैदीबन्दी रहेका छन् । कारागारमा भारत, भुटान, बोलिभिया, बर्मा, चीन, जाम्बिया, पाकिस्तान, क्यानडा, सर्विया, अमेरिका, जर्मनी र चेक रिपब्लिक गरी १२ मुलुकका कैदीबन्दी छन् । विभागको तथ्यांकनुसार नेपाली कारागारमा भारतका मात्रै १ हजार ३ सय ३३ कैदीबन्दी छन् । लुटपाट, ज्यानमुद्दा, लागूऔषध कारोबारमा संलग्न कैदीबन्दीले जेलजीवन विताइरहेका छन् । त्यस्तै, ४९ जना भुटानी नागरिक कैदीबन्दीका रूपमा नेपाली कारागारमा छन् । नेपालमा रहेका अन्य विदेशी कैदीबन्दीमा १२ जना चिनियाँ, एक जना बोलिभियन, एक जना म्यानमारी, एक जना जाम्बियन, दुई जना पाकिस्तानी, दुई जना क्यानडेली, एक जना सर्वियन, एक जना अमेरिकी, एक जना जर्मन र एक जना चेक रिपब्लिकन छन् । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया