इलाम । युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ ।
आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । इलाममा बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचानवादी र स्वतन्त्र उम्मेद्वारहरु तातिसकेका छन ।
अहिले धेरै दलहरुले आफ्ना उम्मेद्वारको टुङ्गो लगाएर भोट माग्न थालि सकेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचान पक्षधर र अन्य स्वतन्त्र उम्मेद्वारहरु आफ्नो उम्मेद्वारी घोषणा लगतै नागरिकका घर–घर पुग्न थालिसकेका छन् । आगामी वैशाख १५ गतेलाई उप–निर्वाचन तोकिएपछि इलाम– २ मा निर्वाचनको माहोल तातिएको छ ।
उम्मेद्वारी टुङ्गो लगाउन बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि उपनिर्वाचनमा धिरेन शर्मा रमणलाई उम्मेदवार बनाउन एकल उमेद्वार सिफारिस गरेको छ । यता संसदको ठूलो दल नेपाली कांग्रेसले भने अझै उम्मेद्वारी टुङ्ग्याएको छैन । काँग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, नेकपा (एकिकृत समाजवादी) बाट जितबहादु राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, पहिचान पक्षधर डकेन्द्र थेगिम, पहिचान पक्षधरनै प्रेमद्धिप लिम्बू, स्वतन्त्र उम्मेद्वारका रुपमा डाकप्रसाद गौतमको उम्मेद्वारी घोषणा भएको छ ।
पछिल्लो अवस्था अनुसार युवा खोजिरहेका मतदाता माझ नेकपा एमाले र रास्वपाले युवा मध्येका युवा उम्मेद्वार मैदानमा उतारिसकेको छ । एमालेले स्व. सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णयसँगै सुहाङ मतदाता माझ युवाबाटै परिवर्तन गर्नु पर्छभन्दै अवसर दिन आग्रह गरिरहेका छन । अधिवक्ता रहेका सुहाङ अहिले इलामको विकास र समृद्धिका लागि एक पटक अवसर दिनुहोस तपाईसँगै हातेमालो गर्दे हिँड्ने बताउँदैछन ।
यता रास्वपाका मिलन लिम्बु पनि इलामको अर्गानिक उम्मेद्वार रहेको र इलामका समस्या’दयगत खवरदारी गर्दा नभएर परिवर्तन गर्नका लागि मैदानमा आएको भन्दै मतदातामाझ एक पटक अवसर मागिरहेका छन ।
०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएर झिनो मतान्तरले पराजीत बनेका थिए । रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए ।
समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए । गएको भदौ २६ मा एमाले नेता नेम्वाङको निधन पछि इलाममो उप–निर्वाचन हुनेभएको हो ।
मुख्य अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम–२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायधिश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
चैत २२ गते इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछिमात्र इलाम–२ को मतदाता नामावली टुङ्ग्याइने जनाइएको छ । निर्वाचन कार्यतालिका अनुसार चैत २४ गते उम्मेद्वारी मनोनय हुनेछ ।
उप–निर्वाचनका निर्वाचन आयोगमा लागि २० वटा दल दर्ता छन् । यता निर्वाचन नजिकिंदै गर्दा निर्वाचनका लागि आवश्यक सामग्री केन्द्रबाट चैत २३ सम्ममा आइपुग्ने जिल्ला स्थित निर्वाचन कार्यालयका सुचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । बाँकी सामग्री खरिदको प्रक्रिया पनि अघि बढाइएको लिम्बूले बताए ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीहरुको नामावली संकलन गरिसकेको जनाइएको छ । इलाम – २ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रहरुमा खटिने आठ सय ९४ जना कर्मचारीको विवरण संकलन भएको सुचना अधिकारी लिम्बूले बताए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको छ । यस्तै, चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया