कोशीमा अन्तर्राष्ट्रिय चिया सम्मेलन : चिया–पर्यटन बहसको मुख्य विषय बन्नुपर्छ

शुक्रबार, २३ चैत्र २०८०

युवराज गौतम

नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय मानिन्छ । यसको प्रमाण गतबर्ष चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले उत्कृष्ट भएको अवार्ड जितिसकेका छन् । गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको हो । चीन, भारत, केन्या, श्रीलङ्का जस्ता देशहरूसँग नेपाली चियाले प्रतिस्पर्धा गरेर अवार्ड नै पाएपछि निर्यात व्यापार बढाउन सहज भएको छ । चियाको राजधानी कोशी प्रदेश नै हो । कोशिका झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रूपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरिसकेकाले राजधानी भन्न कुनै समस्या रहेन । यति बेला चिया टिपाइ सुरु भइसकेकाले चियाको चर्चा गर्नु थप सान्दर्भिक पनि होला । कोशी प्रदेशमा यति बेला अन्तर्राष्ट्रिय चिया सम्मेलनको चर्चा छ । वर्तमान सरकार रहने नरहने टुङ्गो नभए पनि सम्मेलनको तयारी जारी छ । सम्मेलनको मिति आगामी जुन २१–२३ ९असार ७–९० सम्म गर्ने निर्णय भइसकेको छ । इलामको श्रीअन्तु, कन्याम र इलाम बजारमा चिया सम्मेलन गर्ने प्रारम्भिक तयारी छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चियाको व्यापार गर्ने व्यापारी, चियाका विज्ञ र नेपाली चियाको प्रवर्द्धन गर्न सक्नेहरूलाई नेपाल ल्याएर गर्न लागिएको सम्मेलन अर्थपूर्ण मानिन्छ । ल्याउन एनआरएनले सहयोग गर्छौँ भनेको जानकारी दिए । ५० जनाभन्दा बढी विदेशीलाई अन्तर्राष्ट्रिय चिया सम्मेलनमा उतार्ने लक्ष्य राखिएको कार्यक्रम निकै महत्त्वाकाङ्क्षी र कोशी प्रदेशका लागि सुनौलो अवसर पनि हो । गैर आवासीय नेपाली सङ्घको समेत सहकार्य रहने भनिएको सम्मेलनमा चिया उद्योगी, चिया किसान, चियाको क्षेत्रमा काम गरिरहेका सरकारी र गैर सरकारी संस्थाका २ सय बढी सहभागी गराउने लक्ष्य यद्यपि कायम छ । लगानी प्राधिकरण आयोजक र मुख्यमन्त्री संयोजक रहने सम्मेलन कोशी प्रदेशको अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धिका लागि ठुलो अवसर हो । ९५ प्रतिशत चिया कोशी प्रदेशले नै उत्पादन गर्ने भएकाले चिया सम्मेलन राष्ट्रिय प्रतिष्ठाको विषय पनि हो । अन्तर्राष्ट्रिय स्तरको चिया सम्मेलनको हुने भएपछि यसमा पर्यटन अवश्य जोडिन्छ । चिया र पर्यटनको अन्तरसम्बन्ध रहेकाले यसमा चिया–पर्यटनको अवधारणा एवम् यसको प्रवर्द्धनमा प्रदेश सरकारले बनाउनु जरुरी छ । सम्मेलनमा चिया पर्यटनबारे अलगै सेसनमा बृहत् बहस हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवर्द्धनमा आगन्तुकहरूमा अनुरोध गरिनुपर्छ । नेपाल सात प्रदेशमा विभाजित भइसकेपछि स्थानीय सरकारले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि भिन्नाभिन्नै अवधारणा र रणनीतिहरू बनाइरहेका छन् । स्थानीय स्रोत साधनको पहिचान र परिचालन गरेर स्थानीय क्षेत्रलाई समृद्ध र सक्षम बनाउने अभियानहरू थालनी भइसकेका छन् । स्थानीय स्रोत र साधनको अवस्थालाई हेरेर प्रदेश सरकारले आफ्नै किसिमका विकासका योजनाहरू तयार पारेको छ । कोशीमा पनि आफ्नै खाले अवधारणाहरू विकास भएका छन् । ४९ लाख बढी जनसङ्ख्या ओगटेको कोशीमा प्राथमिकतामा पर्यटन क्षेत्रलाई लिइएको छ । कृषि र जल विद्युत मार्फत समृद्धिको बाटो तय गर्ने औंल्याइएकाले चिया कृषिको पनि एक महत्त्वपूर्ण अङ्ग हो । भारत, बङ्गलादेश, चीन र भुटान जस्ता मुलुहरुको गेटवे मानिने कोशीमा मा प्राकृतिक, धार्मिक तथा पर्या–पर्यटनका हिसाबले अब्बल मानिएको छ । सगरमाथा, पाथीभरा, मकालु, कञ्चनजङ्घा, इलाम र अधिकांश जिल्लामा फैलिएको चिया यहाँको पर्यटनका लागि आकर्षक मानिन्छ । १४ वटा जिल्ला समेटिएको यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका छन् । जहाँ कृषि प्रमुख आय स्रोत हो । जसमध्ये धान, चिया, अलैँची, पशुपालन आम्दानीका प्रमुख स्रोत हुन् । सगरमाथा र कञ्चनजंगा हिमाल आरोहणबाट पर्यटक आकर्षण बढाएर आम्दानी प्रशस्त हासिल गर्न सकिन्छ । १४ जिल्लामध्ये ८ जिल्ला चियाले हराभरा छ । चिया प्राकृतिक रूपमा पनि सुन्दर देखिन्छ । सधैँ हरियाली देखिन्छ । जसका कारण चिया–पर्यटन यस प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ साथै बनाउन सकिने आधारहरू पनि छन् । यस कारण चिया पर्यटन विश्वका कतिपय देशमा चिया–पर्यटन अर्थात् टि–टुरिजम प्रमुख आय स्रोतको रूपमा विकसित भएको छ । तर नेपालमा यसको अवधारणा विकास र प्रवर्द्धन हुन सकिरहेको छैन । हुन त नेपालका करिब ३५ जिल्लामा चिया विस्तार भइसकेको छ । चिया उत्पादन गरी विक्री गरेर आम्दानी लिने पाटो एकातिर रहेपनि पर्यटनको अर्को पाटो आय स्रोतको गतिलो आधार मान्न सकिन्छ । चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूमा चिया पर्यटनबाट अथाह फाइदा लिन सकेको पाइन्छ । चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै छ । त्यहाँको जङ्गलमा प्रथम पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथिसम्म पुग्न रोप–वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न बर्सेनि हजारौँ जाने गर्दछन् । चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रूपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रूपमा मात्र होइन सभ्यताको रूपमा लिने गरिन्छ । ती दुई देशमा त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ्ग सेरोमनी’को रूपमा लोकप्रिय भएको छ । त्यहाँ ‘ग्रिन टि, वाइट टि, ब्ल्याक टि, अर्ग्यानिक टि’ चखाएर चियाका पारखीहरूलाई आकर्षित गराउने गरिन्छ । पर्यटकलाई सोही किसिमका चिया चखाएर स्वागत गर्ने परिपाटीको विकास भएको छ । भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ । चिया संस्कृतिका रूपमा विकसित हुँदै गइरहेको छ । चिया अतिथिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएको छ । ठुला मिटिङ, सभा, गोष्ठीमा टि–ब्रेकका रूपमा चिया पिउने परम्पराका कारण अलग्गै संस्कार, सभ्यता हुँदै चिया पर्यटनका रूपमा परिभाषित हुन पुगेको छ । चिया–पर्यटन प्रबद्र्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले यसबाट ठुलो आर्थिक उन्नति गरिरहेका छन् । त्यसैले चिया पर्यटनको अवधारणा विकास र प्रबद्र्धनको कोशी प्रदेशको गतिलो आधार मान्न सकिन्छ । पहिले चियाको महत्त्व बुझाऔँ विश्वका चिया पारखीहरू चियाको सेवनबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा बुझेर चिया पिउन प्रोत्साहित हुने गर्छन् । विशेष गरेर पश्चिमा राष्ट्रका नागरिकहरू चिया सेवनको फाइदाका बारेमा विशेष सजग छन् । त्यसैले उनीहरू ‘टि इज हेल्थ ड्रिङ्क’ भनेर चिया उत्पादक देशहरूमा गुणस्तरीय चिया उत्पादनमा विशेष चासो राख्ने गर्छन् । नेपालको पूर्वी पहाडी जिल्लाहरू चिया उत्पादन हुने उपयुक्त हावापानी भएको क्षेत्रमा गणना हुन्छ । प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायत दोलखा, कास्की, लमजुङ, ललितपुर लगायतका जिल्ला चिया पर्यटनको उपयुक्त स्थानका रूपमा विकास गर्न प्रशस्त सम्भावना भएको क्षेत्र मानिन्छ । नेपालमा करिब १ सय ५० वर्ष पहिले सुरु गरिएको चिया खेती यति वेला आर्थिक स्रोतका रूपमा विकसित हुँदै गइरहेको छ । करिब २८ हजार हेक्टर जमिनमा चिया विस्तार भइसकेको छ । त्यसैले चिया पत्ती प्रशोधन गरेर वा हरियो पत्ती बेचेर आम्दानी गर्नु मात्र होइन कि पर्यटकलाई चियाबारी घुमाएर किसानै हातबाट चिया चखाएर आकर्षित गर्न सकिन्छ । नाङ्गा डाँडालाई सदुपयोग गरेर रोपिएको चियाका बुट्टाले मुना मात्र होइन प्राकृतिक सुन्दरतामा पनि निखार ल्याइदिएको छ । यसर्थ, चियाको स्वाद चखाएर, चियाबारीमै घुमाएर, चियाबारी भित्रकै घरमा बास गराएर, चिया कृषकले नै तयार पारेको हाते चिया उपहार प्रदान गरेर चिया पर्यटनलाई स्थापित गर्न सकिन्छ । चियावारी भित्र रिसोर्ट, छोटो दुरीको पदमार्ग, होमस्टे चिया पर्यटनको अवधारणा भित्र पर्दछ । विश्वका राष्ट्रहरूमा नेपाली चियाको गुणस्तर राम्रो भएकाले नेपाल आउन पर्यटकहरू उत्साहित छन् । पर्यटकले नेपालमा चिया खेतीको अवस्था, खेती गर्ने शैली, ऐतिहासिक प्रशोधन कारखाना, कारखानाको अवस्था, चिया उत्पादन गर्ने तरीका, किसानको जीवनस्तर लगायत यहाँको प्राकृतिक सुन्दरतामा विदेशी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । नेपालमा करिब ६० हजार श्रमिक आश्रित रहेको चिया उद्योगलाई पर्यटनसँग जोडेर विकास गर्न सके कोशीको समृद्धिमा टेवा पुग्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार