विराटनगरबाट खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

सोमबार, ०९ भदौ २०८२

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार पक्राउ परेका हुन् ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डमा उनीहरूलाई शंकास्पद रूपमा गफगाफ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरीले शरीर खानतलासी गर्दा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्रको पाइन्टको गोजीमा लुकाइएको अवस्थामा १ सय ४७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरी इन्स्पेक्टर कविन राईको नेतृत्वमा अनुसन्धान सुरु गरिएको र नेपालमा लागुऔषध आपूर्ति गर्न आएका उनीहरुविरुद्ध लागुऔषध ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार