काठमाडाैं- रुसी सेनाको करार रद्द गरेर स्वदेश फर्किन तयार नेपालीलाई रुसी सेनाले पुनः युद्धमै पठाउने प्रयोजनका लागि तालिममा लगेको छ । पछिल्लोपटक करार रद्द गरेका १२ नेपालीमध्ये दुईजनालाई गत साता रुसी सेनाले तालिममा पठाएको हो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग टेलिफोन कुराकानी गरेपछि रुसी सेनामा कार्यरत नेपालीको सेवा रद्द गर्न रुस तयार भएको थियो । तर, व्यावहारिक कार्यान्वयन नभएको भन्दै रुसबाट नेपालीहरूले बिलौना गरेका छन् ।
युद्धक्षेत्रमा रहेका एक नेपालीले टेलिफोनमा भने, ‘तालिमका लागि माथिबाट आदेश आयो । हेडक्वार्टर मस्कोको आदेश भन्दै कमान्डरले हामीलाई तालिममा जानुपर्यो भनेका छन् । स्वदेश फर्किने आशामा थियौँ, अब बाध्यतावश फेरि लडाइँमा लाग्नुपर्ने भयो । हामीजस्तै अरूलाई पनि ब्यारेकमा राखेको थियो । सिन्धुपाल्चोकका साथीहरूलाई पनि अर्को समूहमा विभाजन गरेर फेरि तालिममा पठाएको छ । ’
युद्धक्षेत्रबाटै अर्का सैनिकले पनि उस्तै गुनासो गरेका छन् । ‘सम्झौता रद्द भयो भनेर मलाई अर्को ठाउँमा ल्याइएको छ । तर, यहाँबाट मस्को कहिले पुगिन्छ, थाहा छैन,’ उनले भने ।
करार सम्झौता रद्द गरेर स्वदेश फर्किने मुडमा पुगेका अर्का पीडित सैनिकले त्यहाँ अप्ठेरो स्थिति रहेको सुनाए । ‘सम्झौता रद्द गरेर पनि रुसी सेनाले हामीलाई जबर्जस्ती क्याम्पमा ल्याएको छ ।
हामी फर्किने तयारी हुँदै थियो, अब के हुन्छ थाहा छैन,’ ती सैनिकले भने, ‘भाग्छन् भनेर हामीलाई फोन गर्न पनि दिएको छैन । सकेसम्म छिटो निस्कौँ भनेका छौँ, तर सकिएको छैन । विभिन्न बहानाबाजी गर्छन् । कहाँबाट कहाँ पुर्याउँछन् भन्ने नै थाहा छैन । माथिका मानिसले हाम्रो कुरा सुन्छन्, तर बीचका अफिसरहरूले सुन्दैनन् ।’
अर्का एक घाइतेले आफू अझै अशक्त अवस्थामा रहेको, तर रुसी सेनाले जबर्जस्ती तालिमका लागि लगेको गुनासो गरे । ‘म १५–२० मिनेट हिँडेपछि थप हिँड्न सक्दिनँ । बमले मेरो घुँडा, टाउको, हातमा लागेको घाउ निको भइसकेको छैन । मलाई दुखेको छ भन्दा कहाँ दुखेको छ, नाटक गर्छस् रु भनेर कमान्डरले गाली गर्छ । तालिमका लागि भनेर ल्याएको छ । के हुन्छ थाहा छैन ।’
अर्का सैनिकले सुनाए, ‘मैले कमान्डरलाई कहिले फर्किन पाउँछु भनेर सोधेको थिएँ, उनले दुई हप्ताभित्र जान पाउँछौँ भने, तर बीचका मानिसले चाहिँ हामीलाई घर जान पाइँदैन भनेका छन् ।’ त्यस्तै, करार रद्द गरिएको र रुसी पासपोर्ट नलिनेको सूचीमा नाम टिपाएकाहरूलाई पनि फेरि तालिममा लैजाने तयारी भएको अर्का नेपालीले बताए ।
रुसले आफ्ना सेनामा कार्यरत नेपालीको सेवा रद्द गर्ने सम्झौताको विवरण नै तयार गरेको थियो । ‘रुसी महासंघको रक्षा मन्त्रालयका सैन्य सेवाबाट करार रद्द गर्ने मुद्दाका सम्बन्धमा तपाईंको अपिललाई विचार गरिएको छ, र यसअनुसार कमान्डरको आदेशअनुसार संघीय कानुनको धारा ५१ को खण्ड ६ अन्तर्गत सैन्य कर्तव्य र सेवासम्बन्धी प्रावधानअनुसार तपाईंलाई आफ्नै अनुरोधमा सैन्य सेवाबाट बर्खास्त गरिएको छ ।’ करार रद्द भएकामध्ये राजधानी मस्को जान रेल चढेका दुईजना परिवारसँग सम्पर्कमा छैनन् । एकजनालाई मस्कोस्थित रुसी सेनाको हेडक्वार्टरमा राखिएको छ ।
रुसी सेनामा कार्यरत सैनिक र परिवारसँग समन्वय गरिरहेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीका अनुसार करार रद्द भएका बाँकी चारजना युद्धक्षेत्रनजिकै अस्थायी क्याम्पमा बसेका छन् । ‘उनीहरू मस्कोसम्म आउने स्थिति पनि छैन । रुसी सेनाले दिएको खाएर त्यहीँ बसेका छन्,’ भण्डारीले भनिन् । युक्रेनसँग युद्धमा घाइते भएका उपचाररत नेपालीलाई पनि रुसले युद्धक्षेत्रमा पठाउन थालेको छ ।
३९ जनाका परिवारले गरे काजक्रिया
रुसी सेनामा कार्यरत नेपालीमध्ये ३९ को मृत्यु भएको र थप १८ को मृत्यु पुष्टि हुन बाँकी रहेको परिवारजनले जानकारी दिएका छन् । रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका तर्फबाट शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको ज्ञापनपत्रमा यस्तो दाबी गरिएको छ ।
यसअघि सरकारले १६ मृतकको नाम सार्वजनिक गरेको थियो भने बाँकी १६ जना मृतकका परिवारलाई मस्कोस्थित नेपाली राजदूतावासमार्फत डिएनए परीक्षणका लागि सूचना दिइएको थियो । ‘योबाहेक थप ७ जनाको मृत्यु भएको छ, र उहाँहरूको परिवारले काजक्रिया नै गरिसकेको छ । यसको विवरण छ, तर परिवारले सार्वजनिक गर्न स्वीकृति नदिएकोले म दिन सक्दिनँ,’ अभियानकी संयोजक कृतु भण्डारीले भनिन् ।
रुसस्थित नेपाली राजदूतावासले १ चैतमा शव पहिचानका लागि १६ मृतकको परिवारलाई डिएनए परीक्षणका लागि कन्सुलर सेवा विभागलाई चिठी पठाएको थियो ।
जसअनुसार तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर, बाँकेका चन्द्रप्रकाश बिसी, प्युठानका सोमेश सुनार, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, मकवानपुरका विजयबहादुर थोकर, धनुषाका विमलकुमार गजमेर, मोरङका गयानन्द साह, विकास राई र घनश्याम शाही तथा नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसी, ठेगाना नखुलेका अभिषेक बुढा, क्षितिज बस्नेत र जितबहादुर घिसिङको मृत्यु भएको हो । यसबारे सरकारले सार्वजनिक गरेको छैन ।
यसअघि सरकारले १ चैतमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको सार्वजनिक गरेको थियो ।
त्यसअघि नै सरकारले मृतक १० जनाको सूची सार्वजनिक गरेको थियो । जसमा, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी छन् ।
अभियानका तर्फबाट हालसम्म मृतकदेखि घाइते र सम्पर्कविहीनसम्म गरी ६२० जनाको विवरण संकलन गरिएको छ । ‘३९ मृतक, १८ मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, ५ युुक्रेनको कब्जामा, ११७ घाइते र २७२ सम्पर्कबिहीन छन्,’ भण्डारीले भनिन् । त्यहाँ कार्यरतमध्ये रुसी राहदानीका लागि ११ जनाले निवेदन दिएका छन् ।
अस्पतालमा गम्भीर घाइते भएकाहरूलाई समस्या पर्दा चेकजाँच गरिन्छ । गोली लागेर घाइते भएका र ठीक भएकाहरूलाई अस्थायी क्याम्पमा राखिएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्तिमा पनि ढिलासुस्ती
रुसी सेनामा कार्यरत छँदा मृत्यु भएका नेपालीको परिवारलाई रुसले नेपाली राजदूतावासमार्फत क्षतिपूर्ति पठाउने वचन दिइसकेको छ । तर, रुस सरकारले भनेअनुसार नेपालबाट कागजात बुझाउन ढिलाइ हुँदा क्षतिपूर्तिमा ढिलासुस्ती भएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सातजना मृतकको विवरण पठाउन लागेको छ ।
‘क्षतिपूर्तिका लागि रुस सरकारले भनेअनुसारको कागजात पूरा गर्नुपर्छ । यसका लागि पहिलो चरणमा सातजनाको कागजात पठाउने तयारीमा छौँ । बाँकीको कागजात संकलन गर्दै छौँ,’ विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया