इटहरीको ट्याङ्रा खोला किनारका दर्जनौँ संरचना भत्काइयो, कोरिडोर निर्माण अभियान अघि बढ्यो

विहीबार, २९ चैत्र २०८०
इटहरी । इटहरी उपमहानगरपालिकाले खोला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । खोला किनारामा रहेका दर्जनौँ संरचनाहरू हटाउँदै उपमहानगरले सफाइ अभियान थालेको थियो । अभियान थालेको १६ दिनमा सात किलोमिटर दुरी भित्रको क्षेत्रलाई सफाचट बनाएको छ । चैत १३ गतेबाट ट्याङ्रा खोलाको सिरान इटहरी २ बाट थालेको अभियान १६ दिन पार गर्दा वडा नम्बर ९ मा आइपुगेको छ । सो अवधिमा सात किलोमिटरको दुरी पार गरेको सफाई अभियानको संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए । यस बिचमा १४ वटा आरसिसी(पक्की) घर तथा संरचना, दुई सय वटा भन्दा बढी सुँगुरको खोर, ढुङ्गाको वाल लगाइएका संरचनाहरू भत्काइएको संयोजक चौधरीले बताए । ‘हामीले वडा नं २ बाट सुरु गरेको अभियान १५ दिन पूरा हुँदा ३,४,६, हुँदै वडा नं ९ मा प्रवेश गरेको छ । यसबिचमा ७ किलोमिटर खोला सफाई सकेका छौँ । चार किलोमिटर सफाई गर्न बाकी छ’ संयोजक चौधरीले प्रदेश खबरसँग भने । कतिपय स्थानमा भएका चर्च, ठुला भवन तथा संरचना भत्काउन कागज गरेर दुईदेखि १० दिनको समय दिएको समेत उनले बताए । बाँकी रहेको चार किलोमिटर क्षेत्रमा १० वटा आरसिसी भवन र अन्य धेरै संरचनाहरू रहेको संयोजक चौधरीले जानकारी दिए । यस्ता भवन तथा संरचनामध्ये निजी घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्च समेत छन् । गाईबस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन् । इटहरी उपमहानगरपालिकाले गत चैत १३ गतेदेखि खोला सफाई अभियानसँगै टेङ्ग्रा कोरिडोर कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ । इटहरी उपमहानगरका तीन वटा एक्स्काभेटर र दुई वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात भए त्यो पनि सफा गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार