इटहरी - इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्न निवर्तमान विद्यालय व्यवस्थापन समितिले सहयोग गरेको छ । विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीसहित सदस्यहरूको टोलीले ५१ हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।
विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्न बिस लाख रुपैयाँ अक्षयकोष पु¥याउने योजनाका साथ झन्डै एक दशकदेखि थालिएको अभियान अन्तर्गत लक्ष्य पूरा हुने अवस्थामा रहेको बताए ।
कार्यक्रममा तीन वर्षे कार्यकाल बिताएका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीसहित सदस्यहरू नारायणप्रसाद खनाल, एलिसा खनाल, निर्मला कट्टेल, लीलादेवी रम्तेल र मीनकुमार मगरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरियो । कार्कीसहित सबै सदस्यलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले सम्मान गरे ।
यसैगरी, पूर्व प्रधानाध्यापक लोकेन्द्र काफ्लेले राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ७ पुरा गरेकी विपन्न परिवारकी जेहेन्दार छात्रा निता कार्कीलाई नगद २० हजार रुपैयाँ प्रदान गरे ।
विद्यालयले आयोजना गरेको निवर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सरुवा भएका तथा राजीनामा दिएका शिक्षकहरू एवम् कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रमका अवसरमा सो नगद प्रदान गरिएको हो । नितालाई काफ्लेले शैक्षिक सामग्री पनि प्रदान गरे । पूर्व प्रधानाध्यापक काफ्लेले नितालाई कक्षा १२ सम्म अभिभावकत्व प्रदान गरी सम्पूर्ण पढाई खर्च बेहोर्ने घोषणा गरेका छन् ।
कार्यक्रमको अवसरमा सुरेश धमला, देवकुमारी राईलगायतलाई बिदाइ गरिएको थियो । कक्षा १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा अध्ययनरत विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बिदाइ गरेका हुन् । यहाँ डिप्लोमा इन सिभिल इन्जिनियरिङको पनि पठनपाठन हुने गरेको छ । बिदाइका क्रममा विद्यार्थीहरूले विभिन्न विधामा प्रतिभा प्रस्तुत गरेका थिए ।
सोही क्रममा वाल विकासदेखि कक्षा ९ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया