नवीन दाहाल
इटहरी । पछिल्लो १५ दिनयता इटहरी क्षेत्रमा ‘अघोषित लोडसेडिङ’का कारण व्यवसायी तथा सर्वसाधारणहरू मारमा परेका छन् । गर्मी बढेको समयमा इटहरीमा झ्याप्प झ्याप्प बत्ती जाने र आउने गरेका कारण जनजीवन अस्तव्यस्त बनिरहेको छ ।
बत्ती आउने तर आइहाले पनि कम भोल्टेज आउने गरेका कारण सर्वसाधारणहरू घोषित रूपमै लोडसेडिङ भएको जस्तो अनुभूत गरिरहेको सुनाउँछन् । लोडसेडिङकै झल्को दिने गरी झ्याप्प–झ्याप्प बत्ती जाँदा अस्पताल ,विद्यालय, उद्योग, कलकारखाना, सपिङ मलहरू, निर्माण सम्बन्धी कामहरू एव सम्पूर्ण व्यवसायी र सर्वसाधारणहरूमा समस्या हुने गरेको छ ।
दैनिक लाइन जाँदा अत्यावश्यक बिरामीहरूको उपचारमा समस्या भएको वेदान्त अस्पताल प्रालीका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले बताए । हिजोआज दैनिक जसो विद्युत् आपूर्ति नहुँदा बिरामीहरूको उपचार गर्न समस्या भएको उनले बताए ।
‘बिरामीहरूको अप्रेसन गर्न ,अक्सिजन दिन, एकसरे , भिडियो एकसरे, तथा उपचार गर्ने क्रममा विभिन्न स्वास्थ्य औजारहरू चलाउन समस्या भएको छ’, निर्देशक श्रेष्ठले भने । लाइन नआउँदा जेनरेटर चलाउनु पर्दा दैनिक ७ देखि १० हजार रुपैयाँसम्म इन्धनमा खर्च हुने गरेको उनले बताए ।
यसै गरी विद्युत् आपूर्ति अनियमित हुँदा विद्यालयहरू पनि प्रभावित छन् । अत्यधिक गर्मी बढिरहेको समयमा लाइन जाँदा कक्षा सञ्चालन गर्न सहज वातावरण नभएको मोर्डन प्रिपेटरी सेकेन्डरी स्कुलका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए । डिजिटल प्रविधिबाट पढाउन स्मार्ट बोर्ड कम्प्युटर आदीको प्रयोग गर्न समस्या भएको उनले बताए ।
‘निरन्तर बढ्दै गएको गर्मी र लाइन पनि जाने समस्या थपिँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था छ,’ प्रधानाध्यापक पौडेलले भने । कम भोल्टेज आउने, लाइन झ्याप्प झ्याप्प जाने र आउने गर्नाले विभिन्न डिजिटल समाग्रीहरु बिग्रने समस्या रहेको समेत उनले बताए । जेनरेटर प्रयोग गर्दा दैनिक हजारौँ रुपैयाँको तेल प्रयोग हुने गरेको प्रधानाध्यापक पौडेलले बताए ।
यसै गरी अघोषित लोडसेडिङका कारण सबैभन्दा बढी उद्योगी व्यवसायीलाई परिरहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा इन्टुरिष्ट होटेल एन्ड लजका सञ्चालक जीवन पराजुलीले बताए ।
लाइन जाने तथा कम भोल्टेजमा हुँदा फ्रिजमा राखिएका धेरै बेकरीका सामाग्रीहरू बिग्रिएको उनले बताए । लिफ्ट नचल्नेदेखि खाना बनाउने ओभन, खाना तताउने माइक्रो ओभनलगायतका सामाग्रीहरू बिग्रने समस्या रहेको उनले जानकारी दिए ।
सम्बन्धित निकायको बदमासी र लापरबाहीका कारण यस्तो समस्या आइरहेको उनको आरोप थियो । तर एसियन हाइवेको विस्तारको लागि रुख काट्ने क्रममा लाइन अवरुद्ध भएको विद्युत् वितरण केन्द्र इटहरीका प्रमुख राम उद्गार शाह बताउँछन् ।
एसियन हाइवे विस्तारका क्रममा ठुला ठुला रुख काट्नुपर्ने र लाइनका तारहरूमा असर गर्ने भएकाले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको प्रमुख शाहले स्विकारे ।
रुख काट्ने क्रममा अझै तीन दिन बिजुली नआउने र शव-स्टेसन भोक्राहबाट कम विद्युत् आपूर्ति भएका कारण भोल्टेज कम हुने समस्या रहेको उनले जानकारी दिए । अब ठुलो पानी परेपछि विद्युत् उत्पादन पनि बढ्ने र कम भोल्टेज तथा लोड्सेडिङ्गको समस्या हट्ने प्रमुख शाहले बताए
प्रतिक्रिया