इलाम २ उपनिर्वाचन-एमालेले विरासत जोगायो, कांग्रेस फेरि चुक्यो,रास्वपा प्रतिस्पर्धामै आउन सकेन

बुधबार, १९ बैशाख २०८१
इलाम- संसदीय निर्वाचनको डेढ वर्षपछि भएको इलाम २ को उपनिर्वाचनमा एमालेले विरासत जोगाएको छ । ३३ वर्षीय सुहाङ नेम्वाङ विजयी भएका छन् । माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमालेलाई सघाएका थिए । प्रजातन्त्र पुनर्स्थापनापछि भएका सातमध्ये ६ निर्वाचनमा यो क्षेत्र एमालेले जित्दै आएको थियो । ०५६ पछिका सबै निर्वाचनमा सुहाङका पिता सुवासचन्द्र नेम्वाङ विजयी हुँदै आएका थिए । बुबाको निधनपछि भएको उपनिर्वाचनमा सुहाङ पाँच हजार आठ सय ३० मतान्तरले विजयी भएका हुन् । निर्वाचनमा हार खाएको कांग्रेसले आफ्ना मत बाँडिएको, रास्वपाले अपेक्षाकृत मत नपाएको टिप्पणी गरेको छ । सुहाङले २७ हजार ७७२ मत ल्याउँदै विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । ४ मंसिर ०७९ को निर्वाचनमा सुहाङका बुवा सुवासचन्द्रसँग कांग्रेसका खड्का एक सय १४ मतान्तरले मात्र हारेका थिए । त्यति वेला माओवादी–कांग्रेस एउटै गठबन्धनमा थिए । यसपटक एमालेले इलामको यो निर्वाचन क्षेत्रमा ०४८ यताका एउटाबाहेक सबै निर्वाचनमा जित निकालेको थियो । जसमध्ये पनि सुहाङका बुवा सुवासले पाँचपटक जित हात पारेका थिए । ‘सुवासचन्द्र नेम्वाङ स्थापित नेता थिए । सुहाङले त्यसको पनि विरासतले मत पाए । उनले सिमप्याथी मत पाए,’ महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिशास्त्रका उपप्राध्यापक सहकुल श्रेष्ठले भने, ‘एमालेको मजबुद संगठनले पनि जित निकाल्यो । माओवादी, विप्लवनिकट नेकपा एक हुँदा सबै वाम एक भएजस्तो पनि भयो । तसर्थ सुहाङले सहज जित निकाले ।’ विजयी भएपछि आयोजना गरिएको सभामा बोल्दै सुहाङले इलामेली जनताको शिर झुक्न नदिई काम गर्ने प्रतिबद्धता जनाए । ‘साना–सानाका सुखदुःखमा सबैमा म समर्पित भएर नागरिकको सेवा गर्नेछु । तपाईंहरू (मतदाता)को सल्लाह सुझाव दिएर अघि बढ्नेछु,’ उनले भने, ‘काम गर्दा शिर झुक्न दिनेछैन । इमानदारीसाथ काम गर्नेछु ।’ उनले आफ्ना बुवा सुवासचन्द्रले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘बुवाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर उहाँकै तरिकाले इमान र निष्ठापूर्वक काम गरेर देखाउनुछ,’ उनले भने, ‘त्यो सबै मेरो काँधमा आएको छ । काम गर्ने वेलामा मतदातालाई कहिल्यै संकोच हुन दिनेछैन । पछुतो हुन दिनेछैन ।’ एमाले इलाम २ मा संगठनका हिसाबले शक्तिशाली पार्टी हो । प्रतिस्पर्धी पार्टी कांग्रेस पनि बलियो नै छ । तर, पार्टीबीचमै बेमेल हुँदा कांग्रेस यस क्षेत्रमा सधैँ पराजित हुन्छ । यसपटक पनि उम्मेदवार चयनलाई लिएर कांग्रेसभित्र ठूलो विवाद भएको थियो । यसपटक पहिचानवादी शक्तिले उठाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफूहरूको मत काटेको कांग्रेस उम्मेदवार खड्काको दाबी छ । कांग्रेसले अघि सारेका उम्मेदवारप्रति पार्टीभित्र मात्र होइन, जनस्तरमा पनि २०७९ मा भन्दा अहिले विश्वास कमजोर बनेको ती नेताको बुझाइ छ। ‘अघिल्लो निर्वाचनमा झिनो मतले पराजित र जिल्ला सभापतिसमेत भएकाले उनले टिकट पाउने कुरामा दुविधा थिएन,’ ती नेताले भने, ‘पार्टीकै शीर्ष नेताहरूले नाममा पनि विवाद गरेर उम्मेदवार छनोटमा ढिला भयो। पार्टीभित्र र बाहिर पनि उनको छबी पहिला जस्तो थिएन।’ पहिचानको मुद्दामा पनि कांग्रेस स्पष्ट हुन सकेन। प्रदेश नम्बर एक (हाल कोसी प्रदेस) को नामकरण किरातसहितको पहिचानलाई समेटेर हुनुपर्ने माग थियो। एमाले त्यसको विपक्षमा उभियो। कांग्रेसले पनि एमालेकै चाहनाअनुसार कोसी प्रदेशमा सहमति जनाउँदै प्रदेशसभामा मतदान ग¥यो। तर कांग्रेसका जिल्ला सभापति त्यस क्षेत्रमा उठेको पहिचानको मुद्दालाई सम्बोधन गर्नुपर्ने पक्षमा उभिए। इलाम–२ मा कांग्रेस यस विषयमा स्पष्ट हुन सकेन। जसले गर्दा पहिचानको पक्ष र विपक्ष दुवैको मत उसले पाउन सकेन। ‘कांग्रेसका साथीहरूले मुढा (डकेन्द्रसिंह लिम्बू)लाई मत दिए । घण्टी (रास्वपा)लाई अलिकति दिए । तसर्थ सोचेजस्तो भएन,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले सहज रूपमा लिएका छौँ । एमालेसँग चार दलको गठबन्धन हुँदा पनि हाम्रो सम्मानजनक मत आएको छ । हामीले दह्रो प्रतिस्पर्धा गरेका छौँ ।’ पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू उपनिर्वाचनमा तेस्रो भए । उनले ११ हजार चार सय ५७ मत पाए । जब ०७९ फागुन १७ गते प्रदेश–१ को नाम कोशी राखियो त्यसपछि बलेको आन्दोलनको आगो ब्यालेटसम्म पुग्यो । प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै पहिचानवादी आन्दोलित बने । यसबीचमा पहिचानवादीलाई ठूला राजनीतिक दलले ‘पहिचानको नाम एक-दुईजना उफ्रिएको’ आरोप लगाउँदै आएका थिए । आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा इलाम–२ को उपनिर्वाचन आयो । यो उपनिर्वाचनमा एउटै निर्वाचन क्षेत्रमा पनि पहिचानवादी शक्ति ठूलो छ भन्ने देखाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह पनि पहिचानको मुद्दाले जनताबाट वैधता पाएको बताउँछन् । तर, ठूला राजनीतिक शक्तिको चलखेलले चुनावमा हार भएको उनको तर्क छ । इलाम २ को नतिजापछि एमाले अध्यक्ष केपी ओलीले इलाममा पहिचानवादीको हार भएको अप्रत्यक्ष टिप्पणी गरेका छन् । नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको विजयी ¥यालीमा पुगेका ओलीले प्रदेशको नामकरण पहिचानको विषय नरहेको बताए । ‘पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ, यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौँ थुंगा फूलका एउटै माला हौँ,’ ओलीले भने, ‘इलाममा पनि सूर्य चिह्नले जित्यो, त्यही हो पहिचान ।’ २०७९ सालको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि भने इलाम–२ को उपनिर्वाचन सुखद बनेन्। अघिल्लो वैशाखमा भएको उपनिर्वाचनमा पाएको सफलताले रास्वपा इलाम–२ मा पनि जितेर पुराना राजनीतिक दल मात्र होइन, सरकारलाई पनि दबाबमा राख्न चाहन्थ्यो। उसले २०८४ मा हुने आमनिर्वाचनमा एकल बहुमत ल्याउने सन्देश प्रवाह गर्न पनि उपनिर्वाचनमा जित हात पार्न सम्पूर्ण शक्ति लगाएको थियो। तर रास्वपा उम्मेदवारको जमानत जफत भयो। रास्वपाका उम्मेदवार मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशतभन्दा कम अर्थात् ५ हजार ५० मत मात्र पाएका छन्। मिलनको हारले राजनीतिमा आवेग, आक्रोश र अवसरवाद मात्र होइन, परिपक्व, जिम्मेवार र जवाफदेहिता पनि चाहिने सन्देश दिएको छ। इलाम–२ मा मिलनको हारले रास्वपाको मिसन– २०८४ अभियानमा एक प्रकारको ‘ब्रेक’ लागेको छ भने नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिन पार्टीभित्रबाट पनि थप दबाब पर्ने देखिन्छ। आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार