इटहरी । इटहरी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। उपमहानगर परिसरमा बन्दै गरेको ६ तले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले नयाँ भवनमा घर नक्सा शाखा, कृषि शाखा ,पशु शाखालगायत अन्य विभिन्न शाखाहरू , महाशाखाहरू रहने जानकारी दिए ।
२०४६ सालदेखि सेवा प्रदान गर्दै आएको भवनमा नगरवासीलाई सेवा प्रवाहका लागि ठाउँ अपुग भएकाले नयाँ भवन निर्माण अति आवश्यक भएको समेत उनले बताए ।
‘गाविसबाट नगरपालिका र नगरपालिकाबाट उपमहानगरपालिका बनेसँगै सेवाग्राहीको सङ्ख्या बढेको र कामको चाप बढेकाले नयाँ भवनको आवश्यकता परेको हो,’ अधिकृत मेहताले भने । नयाँ भवनबाट आवश्यकता अनुसार सेवा प्रदान गरिने उनको भनाइ छ ।
प्रशासनिक भवन निर्माण कार्य ब्राईट ज्ञान ज्योति अर्थ जेभी हेटौडाले गर्दै आएको छ । २८ सय वर्ग फिटको जग्गा ओगटेको भवन निर्माणको लागि २०७८ साल मङ्सिर २० गते ९ करोड १८ लाख चौबिस हजार तीन सय चौसट्ठी रुपैयाँमा सम्झौता भएको थियो ।
सम्झौतामा ०८० असारभित्र सक्ने भनिए पनि पूरा नभएपछि ०८१ असार मसान्तसम्म म्याद थपिएको इन्जिनियर जीवन घिमिरेले बताए । भवनको अधिकांश निर्माण सम्पन्न भएको र अब अन्तिम चरणका काम भइरहेको उनले जानकारी दिए ।
भवनको दुईतर्फ भर्याङ्ग रहने छ भने एउटा लिफ्ट पनि रहने छ । भवनमा फायर फाईटिङ्गको सुविधा समेत रहने छ । भवनको छैटौँ तलामा एउटा सभाहल बन्नेछ ।
प्रतिक्रिया