अधिकारीद्वारा पत्नीका नाममा डलरमा घुस :अन्तर्राष्ट्रिय कलको आम्दानीमा घोटाला

शुक्रबार, ११ जेठ २०८१
टपेन्द्र कार्की काठमाडौँ : घुसबापतको रकम विदेशी बैंकमै भुक्तानी हुने र जम्मा हुने गरेको समाचार प्रकाशित भइरहेको बेला नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुसबापतको रकम लिएको फेला परेको छ। अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेको हो। टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलले भ्रष्टाचार गरेको रकम सिंगापुरमा राखेको र उनको मुद्दा अदालतमा पुगिसकेको अवस्थामा टेलिकमकै पूर्वप्रबन्ध सञ्चालक अधिकारीलाई पत्नीका नामबाट आएको रकमबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ। संस्थालाई नोक्सान पुर्‍याई व्यक्तिगत लाभ लिएको आशंकामा अख्तियारले अधिकारीमाथि छानबिन सुरु गरेको हो। स्रोतका अनुसार जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्राष्ट्रिय आगमन कल (इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाँटमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले व्यक्तिगत लाभ लिने क्रममा पत्नीको नाममा सो रकम जम्मा हुने व्यवस्था मिलाएका थिए। अधिकारीकी पत्नीका नाममा रहेको हिमालयन बैंक ठमेलको खाता नम्बर ००१००९९४२८००१७ मा ओसन टेक्नोलोजी लिमिटेड जापानले मासिक २ हजार ९२४ अमेरिकी डलर जम्मा गरिदिएको भौचर अख्तियारले फेला पारेको हो। अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गरिएको र त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा राखिदिने गरेको थियो। दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड गर्दा टेलिकमलाई करोडौं रूपैयाँ घाटा पारी व्यक्तिगत लाभ लिने अधिकारीमाथि उजुरी परेको थियो। अधिकारी २०१२ देखि २०१५ सम्म नेपाल टेलिकमको अन्तर्राष्ट्रिय व्यापार हेर्ने शाखाका प्रमुख थिए। अन्तर्राष्ट्रिय कल आदानप्रदान हुने देशहरूबीच नेगोसिएसन (वार्ता) का आधारमा आम्दानी बाँडफाँट हुने गर्छ। अधिकारीले आफू जिम्मेवारीमा हुँदा अन्तर्राष्ट्रिय कलको आम्दानी बाँडफाँटमा नेपाललाई घाटा पारेको स्रोतको दाबी छ। जापानको सो कम्पनीले नेपाल टेलिकमलाई अझै करोडौं रूपैयाँ तिर्न बाँकी रहेको पनि स्रोतले जनाएको छ। ‘अधिकारी टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारीमा रहँदा जापानको कम्पनीले तिर्नुपर्ने पैसासमेत बाँकी छ, यसबाट टेलिकमका लागि करोडौं घाटा भएको छ,’ टेलिकमकै एक उच्च अधिकारीले भने। ओसन टेक्नोलोजी कम्पनीबाट पत्नीको नाममा पैसा आएको विषयमा प्रश्न गर्दा सो सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘यस्तो विषय मलाई थाहा भएन। लामो समय भयो, म त्यहाँको प्रमुख पनि होइन,’ हाल जावलाखेल शाखामा कार्यरत अधिकारीले भने, ‘जापानको ओसन टेक्नोलोजीसँग सम्झौता त सन् २०१२ भन्दा अघि नै भएजस्तो लाग्छ। खातामा पैसा आएको बारेमा मलाई जानकारी छैन।’ पत्नीको खातामा कम्पनीको नामबाट अमेरिकी डलरमा पैसा जम्मा भएको देखिएपछि अख्तियारले अधिकारीमाथि अनुसन्धान सुरु गरेको हो। टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण पाएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान मात्रै गरेको छैन, विशेष अदालतमा मुद्दा दायर गरी आदेशसमेत आइसकेको छ। पौडेललाई नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरिसकेको छ। पौडेलको जस्तै विदेशी बैंकको बंैक खातामा पूर्वप्रबन्ध निर्देशक अधिकारीले समेत भ्रष्टाचारको रकम जम्मा गरेको स्टेटमेन्टसहित अख्तियारमा उजुरी परेको थियो। त्यसलगत्तै अख्तियारले अधिकारीकी पत्नी ढकालका नाममा रहेका विभिन्न बैंकका खाता विवरण माग गर्दा हिमालय बैंकमा रकम जम्मा भएको देखिएको हो। अख्तियारले हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुन सक्नेतर्फ पनि अनुसन्धान अघि बढाएको छ। अधिकारी एमडी रहँदा जुन देशको भ्रमणमा पनि हङकङ एयरपोर्ट प्रयोग गर्ने र दुई दिन त्यहीँ बस्ने गरेको सूचना पनि अख्तियारले पाएको बताइएको छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार