काठमाडौँ : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन् । साथै, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष रूपा थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र सङ्गठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेसागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, साङ्गठनिक सुदृढीकरण तथा शुद्धीकरण र सङ्गठनको बृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरेका छन् ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले साङ्गठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा सङ्गठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यावसायिक निष्ठा र इमानदारिता एवम् लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया