भ्रष्टाचारका पर्याय विकल पौडेल : अर्को मुद्दामा पनि दोषी ठहर, एक वर्ष कैद सजाय

मंगलबार, १५ जेठ २०८१
काठमाडौं: सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भ्रष्टाचारमा एक साताअघि दोषी ठहर्‍याइएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको मुद्दामा पनि दोषी ठहर भएका छन् । एक महिनाअघि दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार जरिवाना भराउने फैसला गरेको हो । विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र (पिआर) लिएको अवस्थामा ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हालेको विशेषको ठहर छ । १३ जेठ ०७९ मा पदावधि थप गर्न निवेदन दिँदासमेत पिआर लिएको विषय लुकाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो । अख्तियारले विशेषमा ९ वैशाख ०८१ मा मुद्दा दायर गरेको थियो । इजलासले झुटा विवरण पेस गरेको ठहरसहित ६ महिना कैद र १० हजार जरिवाना तथा संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत रहेको भन्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद हुने फैसला गरेको हो । यसअघि ८ जेठमा पौडेलसहित चारजनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा नौ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित फैसला सुनाएको थियो । पौडेलका कारण नेपाल सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको ठहरसहित दुई वर्ष कैद सजाय सुनाएको थियो । पौडेलविरुद्ध विशेषमै अझै दुई मुद्दा विचाराधीन छन् । गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै ९ जेठमा एउटा मुद्दा दायर भएकोमा त्यसअघि ३० वैशाखमा प्रेस खरिद अनियमितताको आरोपमा ४० करोड रुपैयाँ बिगो कायम गरी अर्को मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार