ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शुक्रवारदेखि वृहत् शिक्षा सम्मेलन सुरु हुँदै छ ।
जिल्लामै पहिलो पटक मैवाखोला गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षा सम्मेलनको आयोजना गर्न लागेको हो ।
‘सबैका लागि गुणस्तरीय शिक्षा, सार्वजनिक शिक्षालाई सुदृढ बनाऔँ’ भन्ने मूल उद्देश्यका साथ दुई दिने वृहत् शिक्षा सम्मेलनको आयोजना गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
उनका अनुसार शैक्षिक रूपान्तरणमा नयाँ सोच निर्माणका लागि यस सम्मेलनले अत्यन्तै ठुलो मद्धत पु¥यानेछ । शुक्रवारबाट सुरु हुने सम्मेलन शनिवार सम्पन्न हुने पालिकाले जनाएको छ ।
शिक्षाविद् तथा सामाजिक अध्येता विमल कुमार फुयाँल, वृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, नेतृत्व विकास एवम् व्यवस्थापन विज्ञ आरके ढुङ्गाना लगायतले सम्मेलनमा सहजीकरण गर्ने बताइएको छ ।
सम्मेलनमा पालिकाभरिका शिक्षक तथा शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र सदस्य, शिक्षक अभिभावक सङ्घका जनप्रतिनिधि, कर्मचारी शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति जनाइएको छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा मैवाखोला गाउँपालिकाले नयाँ अभ्यासको सुरुवात गर्न लागेको हो ।
२०८० सालमा सञ्चालित कक्षा ८ को पालिका स्तरीय परीक्षाबाट ५ जना मात्रै विद्यार्थी उत्तीर्ण भएपछि गाउँपालिकाले यो योजनालाई अघि सारेको थियो ।
विद्यार्थीहरूमा कमजोरीपनको प्रमुख समस्यालाई औँल्याएर शैक्षिक विकासका लागि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया