इटहरी । स्वच्छताका आधारमा इटहरीको आठ वटा होटेल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्याङ्कन गरिएको छ ।
सोमबार विभिन्न निकायका प्रतिनिधीहरुले अनुगमन गर्दै होटेल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्याङ्कन गरिएको हो ।
होटेल तथा रेस्टुरेन्टको सरसफाइ, भुँइभित्ता र सिलिङ, खाना बनाउने तथा खुवाउने ठाउँ, फोहोर पानी व्यवस्थापन, भेन्टिलेसन, तातो तथा चिसो पानी, चरा मुसा भित्र छिर्नबाट रोक्ने जाली, ढोकाहरू, कर्मचारीको व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य, पिउने पानी प्रशोधित भए नभएको, खानेकुरा राम्ररी पकाएको वा छोपेर राखे नराखेको, परिकारहरूको गुणस्तरलगायत ५० वटा मूल्याङ्कन क्षेत्रलाई आधार मानेर स्तरीकरणको स्टिकर प्रदान गरिएको छ ।
अनुगमनका क्रममा इटहरीमा रहेको होटेल इनटुरिष्ट प्यालेस,होटेल बरन्डा,रोयल रिसाेर्ट इटहरी,होटेल गरिमा प्रालिलाई अति उत्तम क श्रेणिमा राखेर हरियो स्टिकर प्रदान गरिएको छ ।
यस्तै इटहरीकै विष्णु मिष्टान्न भण्डारलाई ग श्रेणिमा राखी उत्तम तथा गोरखा किचन, गोरखा होटेल र पूर्वाञ्चल क्याफे एन्ड रेस्टुरेन्टलाई ख वर्गमा राखी स्टिकर प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका सूचना अधिकारी तथा खाद्य निरीक्षक उज्ज्वल कोइरालाले जानकारी दिए ।
सबै हाेटलहरुमा अनुगमन गर्न समय अपुग भएकाले गर्दा केही नमुना हाेटलहरुलाई छानेर स्तरीकरण गरिएको निरीक्षक कोइरालाले बताए । बिस्तारै अन्य हाेटलहरुकाे समेत अनुगमन गरेर स्तरीकरण गरिने उनले बताए ।
अनुगमन गरिएका आठ वटा मध्ये चार वटा अति उत्तम, तीन वटा उत्तम, एक वटा सन्तोषजनक भेटिएको अनुगमनका प्रतिनिधिहरूले बताएका छन् ।
होटलहरुमा रहेका कमी कमजोरीहरुलाई आगामी दिनमा सुधार गरी आफ्नो होटलहरुको गुणस्तर बढाउन अनुगमन टोलीले सुझाव दिएको होटल व्यवसायी सङ्घका महासचिव आरन कार्कीले बताए ।
प्रतिक्रिया