पक्राउ पुर्जी जारी गरेर प्रहरीले नै गर्दै छ अनुसन्धानमा आलटाल

आइतबार, ०२ असार २०८१
काठमाडौं । बालमन्दिर जग्गा लिजमा दिँदा भएको घोटलाको छानबिन गरेर मुद्दा दायरको प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रहरीले नै आलटाल गर्दै आइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालमन्दिर जग्गा लिजमा लिँदा घोटालामा संलग्न विशाल ग्रुपका व्यापारीलाई पक्राउ गर्न सकेको छैन ।

बालमन्दिर जग्गा घोटाला प्रकरण

प्रहरीले सुरुमा पक्राउ पुर्जी जारी गरे पनि पछि राजनीतिक दबाबका कारण प्रहरी ठूला व्यापारीलाई छानबिन गर्न हच्किएको छ । सो घोटालामा संलग्न व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएपछि सीआईबीले हालसम्म एक जनालाई मात्रै पक्राउ गरेको थियो । पक्राउ परेका तुलसीनारायण श्रेष्ठलाई पनि दुई दिनपछि सामान्य तारेखमा छाडिदिएको छ । सीआईबीले गत २७ वैशाखमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंहसहित पूर्वपदाधिकारी तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपक दासलगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै बृहस्पति विद्यासदनका पूर्वसञ्चालक चिरञ्जीवी तिवारी, प्रवीणराज जोशी र मुरारी निधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेसहितलाई पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये संघाई, सिंघनिया र केडिया विशाल व्यावसायिक समूह विशाल ग्रुपसँग सम्बन्धित भएको र यही समूहले बालमन्दिरसँग जग्गा भाडामा लिएर बृहस्पति विद्यासदन चलाएको सीआईबीले जनाएको छ । बालमन्दिरको जग्गा भाडा अनियमितता काण्डमा उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले जग्गा लिजमा दिँदा अनियमितता भएको ठहर गरेको थियो । छानबिन आयोगले अनियमितता आंैल्याएपछि अख्तियार दुरूपयोग अनुसन्धान अयोगले पनि छानबिनमा चासो देखाएको भए पनि अहिले चुपचाप बसेको छ ।

कसको के भूमिका थियो ?

बालसंगठन र बृहस्पति स्कुलबीच २७ माघ २०४९ सालमा पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा संगठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका थिए । त्यस्तै, संगठनका तर्फबाट अञ्जु, बस्नेत, राजेन्द्रमान जोशी, प्रमोद पौडेल साक्षी बसेका थिए । सम्झौतामा बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले हस्ताक्षर गरेका छन् भने पुरुषोत्तमराज जोशी, मधुर शर्मा र मुरारी तिवारी साक्षी बसेका छन् । २०५३ सालको जग्गा लिज सम्झौतामा संगठनका तर्फबाट महासचिव प्रचण्डराज प्रधानले हस्ताक्षर गरेका छन् भने साक्षीको नाम स्पष्ट छैन । बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले नै हस्ताक्षर गरेका छन् । पुरुषोत्तमलाल जोशी साक्षी बसेको देखिन्छ । अहिले चिरञ्जीवी तिवारीको निधन भइसकेको छ । २ जेठ २०५८ सालको जग्गा लिज सम्झौतामा बालसंगठनका तर्फबाट महासचिव गणेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्, योगेन्द्रबहादुर शाही साक्षी बसेका छन् । सम्झौतामा बृहस्पतिका तर्फबाट पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन् भने साक्षीको नाम स्पष्ट छैन । ११ भदौ २०५९ सालमा १३ रोपनी १२ आना १ पैसा जग्गाका लागि भएको लिज सम्झौतामा बालसंगठनका तर्फबाट महासचिव रामकाजी कोनेले हस्ताक्षर गरेका छन् । बालसंगठनका केन्द्रीय कार्यसमिति सदस्य मनोहरगोपाल श्रेष्ठ, शाखा प्रमुख टीकामणि न्यौपाने साक्षी बसेका छन् । बृहस्पतिका तर्फबाट भने पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्, साक्षीहरूमा प्रिन्सिपल आनन्द गुरुङ, प्रमुख प्रशासक मुरारीनिधि तिवारी र शैक्षिक संयोजक रोहितरत्न प्रधान छन् । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बालसंगठन अर्थात् बालमन्दिरका नाममा १ सय १९ रोपनी १२ आना तीन पैसा जग्गा राखेको थियो । सोमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायले भोगचलन गरिरहेको र त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा मन्दिरको २९ रोपनी चार आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो मूल्यमा लिजमा दिएपछि विवाद बढेको थियो । बालमन्दिर परिसरमा सञ्चालन भएको बृहस्पति विद्या सदनका सयेरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रिन फिल्ड इंक प्रालि, श्यामसुन्दर कँडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् । जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको १ करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको १ करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको ३ करोड ६१ लाख १२ हजार ५ सय रुपैयाँ, श्रद्धा संघईको २ करोड ५७ लाख ९२ हजार ५ सय रुपैयाँ, अर्पित अग्रवालको १ करोड १२ लाख १० हजार रुपैयाँ, ग्रिन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कँडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिघांनियाको ४२ लाख ३० हजार ६ सय रुपैयाँ, सञ्जयकुमार मोरको ७ लाख ४ हजार २ सय रुपैयाँ, सञ्जय अग्रवालको ७ लाख ४ हजार २ सय रुपैयाँ, विशाल अग्रवालको २ करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको २ करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ । बालमन्दिर परिसरभित्र रहेको अर्को विद्यालय राई स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रिन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् । यस विद्यालयमा श्रद्धा संघाईको ७५ लाख ५५ हजार १ सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार २ सय रुपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार ६ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार ६ सय रुपैयाँ, ग्रिन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्स्टिच्युट अफ मेनेजमेन्टको ९ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालाको १६ लाख ८७ हजार ५ सय रुपैयाँबराबरको सेयर लगानी छ । ८ जेठ २०५८ सालमा बालसंगठनको जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरिएकोमा जग्गा प्रयोगको अवधि भने ३० वर्ष कायम गरिएको थियो । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार