ताप्लेजुङमा थालियो कालाजारको ‘केस बेस सर्भिलेन्स’

बुधबार, १२ असार २०८१
ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाराजका सङ्क्रमित देखिन थालेपछि स्वास्थ्य कार्यालय ताप्लेजुङले कालाजार देखिएका क्षेत्र आसपासका नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले कालाराजका बिरामी फेला परेका स्थानमा ‘केस बेस सर्भिलेन्स’ सुरु गरेको हो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालले आठराई त्रिवेणी गाउँपालिकाको वडा नं १ निघुरादिन,वडा नं २ फूलबारी र फुङलिङ नगरपालिकाको ल्याङ्वा क्षेत्रमा ‘केस बेस सर्भिलेन्स’गरिएको जानकारी दिए । ताप्लेजुङमा गत फागुन र चैत महिनामा कालाराजका दुई जना सङ्क्रमित भेटिएका थिए । फूलबारी र निघुरादिनमा १२ जना तथा दोखुको ल्याङ्वा क्षेत्रमा १६ जनाको नमुनागत ‘केस बेस सर्भिलेन्स’गरिएकोमा सबैको रिपोट नेगेटिभ अर्थात् कालाराजका कुनै सङ्केत नदेखिएको आएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईका अनुसार फागुन र चैतमा १–१ जना कालाजार सङ्क्रमित भेटिएका हुन् । राईका अनुसार चैत २९ गते फुङलिङ नगरपालिका वडा नं ८ का २३ वर्षे पुरुषमा कालाजारको सङ्क्रमण देखिएको थियो । फागुन ११ गते आठराई त्रिवेणी गाउँपालिकाका एक ५५ वर्षे पुरुषमा पनि कालाजरको सङ्क्रमण देखिएको थियो । कालाजारलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस,ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ । प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो । स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो लाग्ने गर्दछ । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार