मनसुनको प्रारम्भमै देशभर क्षति : २४ घण्टामै २० ले गुमाए ज्यान

विहीबार, १३ असार २०८१
काठमाडौँ : मनसुनको सुरुवातमै बाढी, पहिरो र चट्याङले देशभर ठूलो क्षति पु¥याएको छ । मंगलबार र बुधबार मात्रै मनसुनी विपत्मा २० ले ज्यान गुमाएका छन् । सप्तरीमा करिब दुई सय ५० घर डुबानमा परेका छन् । त्यस्तै, विराटनगर महानगरका नौवटा वडा जलमग्न बनेका छन् ।
दुई दिनको अवधिमा चट्याङले ११, पहिरोमा परेर आठ र बाढीले बगाएर एकजनाको ज्यान गएको छ । चट्याङमा परेर झापा, रोल्पा, कपिलवस्तु र कैलालीमा दुई–दुई तथा लमजुङ, पूवी नवलपरासी र सुनसरीमा एक–एकको मृत्यु भएको छ । त्यस्तै, कैलालीमा ६, मकवानपुर, लमजुङ, दैलेख र तनहुँमा दुई–दुई तथा सुनसरी र नवलपरासी पूर्वमा एक–एक गरी १६ घाइते भएका छन् । त्यस्तै, पहिरोमा परी लमजुङमा पाँच, कास्कीमा दुई र ओखलढुंगामा एक गरी आठजनाको मृत्यु भएको छ । लमजुङ, ओखलढुंगा र कास्कीमा दुई–दुई गरी ६ जना घाइते भएका छन् भने नौ घरमा क्षति पुगेको छ । त्यस्तै, बाढीमा परेर मोरङमा एकजनाको ज्यान गएको छ । बाढीमै सप्तरीमा दुई घाइते छन् भने चितवनमा एक बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले मनसुनको सुरुवाती चरणमा भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको बताए । उनले भने, ‘मुलुकमा मनसुन सुरु भएको दुई साता भएको छ । यस अवधिमा दुई सय १५ घटना भएका छन् । धेरैले ज्यान गुमाएका छन् । आर्थिक क्षति पनि धेरै भएको छ । संकेत त्यति राम्रो छैन । स्थानीय चनाखो भएर बस्नुपर्ने अवस्था देखिएको छ ।’ बुधबार बिहान मेघगर्जनसहितको वर्षात्का वेला चट्याङ खस्दा कैलाली, रोल्पा र कपिलवस्तुमा दुई–दुई तथा लमजुङ र पूर्वी नवलपरासीमा एक–एक गरी आठजनाको ज्यान गएको हो ।कैलालीमा जोशीपुर गाउँपालिका– ३, भितरियाका ३९ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८, ‘एफ’ गाउँका सालिम चौधरीको मृत्यु भएको छ । कैलाली प्रहरी प्रवक्ता कवीन्द्र बोहराका अनुसार उनीहरू बिहान घरनजिकै खेतमा काम गरिरहेका वेला चट्याङमा परेका थिए । त्यस्तै, कपिलवस्तुमा बुद्धभूमि नगरपालिका– १०, धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका– ६, भैसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको छ । रोल्पामा सुतिरहेको अवस्थामा चट्याङ पर्दा सुनछहरी– ३, बाहिरीगामकी २२ वर्षीया जइता घर्तीमगर र उनकी १४ वर्षीया नन्द गोमला घर्तीमगरको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार राति १ बजेतिर घटना भएको हो । त्यस्तै, लमजुङमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल र पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १४, अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनीको मृत्यु भएको छ । खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर घाइते भएकी थरुनीको उपचारका क्रममा ज्यान भएको हो । स्कुल जाँदै गरेका  बालबालिकामाथि बज्रियो चट्याङ कैलालीको घोडाघोडी नगरपालिका– ९, बुदेनीमा विद्यालय जाँदै गर्दा चट्याङ लागेर तीन स्कुले बालिका गम्भीर घाइते भएका छन् । नौ वर्षीया सरस्वती भुल, सात वर्षीया पारू कठायत र १० वर्षीया खिमा कठायत घाइते भएका इलाका प्रहरी कार्यालय सुखडका डिएसपी दीपेन्द्रबहादुर पालले जानकारी दिए । मोहन्याल आधारभूत विद्यालयमा अध्ययनरत उनीहरू विद्यालयको गेटमा पुग्दा चट्याङ परेको प्रहरीले जनाएको छ । तीनै बालिकाको नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा आइसियूमा उपचार भइरहेको छ । कैलालीकै जानकी गाउँपालिका– ४, बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुष्मा डगौरा र भजनी नगरपालिका– ६, का ५५ वर्षीय रामबहादुर चौधरी पनि चट्याङ लागेर घाइते भएका छन् । त्यस्तै, चितवनको भरतपुर महानगरपालिका– १८, चनौलीमा चट्याङबाट २८ वर्षीया सविता विक घाइते भएकी छिन् । त्यस्तै, मंगलबार झापामा दुई र सुनसरीमा एक जनाको चट्याङबाट मृत्यु भएको थियो । लमजुङमा पहिरोमा परी पाँचको मृत्यु, चारजना एकै परिवारका लमजुङमा मंगलबार रातियता पहिरोमा परेर एकै परिवारका चारसहित पाँचजनाको ज्यान गएको छ । मंगलबार मध्यराति क्व्होंलासोथार गाउँपालिका– ३, बगुम गाउँमा पहिरोले घर बगाउँदा ७९ वर्षीय रुद्रमान गुरुङ, रुद्रमानकी बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरीहरू नौ वर्षीया इच्छा र अन्दाजी पाँच वर्षीया निष्मा गुरुङको मृत्यु भएको लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए । क्व्होंलासोथार गाउँपालिका– ३ का वडाध्यक्ष आसवीर गुरुङका अनुसार आमा र दुई छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकै ठाउँमा फेला परेको थियो । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । पहिरोमा परी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याइएको छ । सात घर रहेको बगुम गाउँका तीन घर पहिरोले पुरेको हो । बाँकी चार घरपरिवारलाई पनि सामुदायिक भवनमा स्थानान्तरण गरिएको क्व्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष गमी गुरुङले बताइन् । त्यस्तै, दोर्दी गाउँपालिका– ९, धैरेनी सुनारगाउँमा मंगलबारै राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन घाइते भएका छन् । दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट घरमा पहिरो खसेपछि घाइते भएकामा बेँसीसहरस्थित लमजुङ अस्पताल ल्याएलगत्तै बुधबार बिहान ७ बजेतिर विकललाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मिलनको उपचार भइरहेको छ । कास्की पहिरोमा दुई बालबालिकाको मृत्यु, सँगै सुतेका परिवारका सदस्य जोगिए कास्कीको मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा माटोको ढिस्को घरमाथि खस्दा कोठामा सुतिरहेकी १३ वर्षीया आयुष्मा रानाभाटको ज्यान गएको छ । सँगै सुतेकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुशल उद्धार भएको छ । ब्लक र टिनले बनेको घर भएकाले माटोको ढिस्को कोठाभित्रै सुतेको ठाउँसम्म आएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए । त्यस्तै, पोखरा महानगरपालिका– २७ आरूपाटामा पहिरोले घर भत्किँदा तीन वर्षीय बालक अनमोल सुनारको ज्यान गएको छ । उनकी आमा २७ वर्षीया ऋतु सुनार घाइते भएकी छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, मृतकका बुबा हरि र दिदी नौ वर्षीया अञ्जलीको सकुशल उद्धार गरिएको छ । पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएको छ । सप्तरीमा २५० घर डुबानमा मंगलबार रातिको वर्षा र बाढीले सप्तरीमा करिब दुई सय ५० घर डुबानमा परेका छन् । शम्भुनाथ, कञ्चनरूप, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा रूपनी, तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाका बस्ती डुबानमा परेका हुन् । सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले प्रभावितहरूको यकिन तथ्यांक आइनसकेको, तर जिल्लाका विभिन्न ठाउँका करिब अढाई सय घरमा बाढी पसेको प्रारम्भिक सूचना प्राप्त भएको बताए । ‘बाढी प्रभावितहरूको यकिन तथ्यांक संकलन भइसकेको छैन । हामी संकलन गर्दै छौँ, भोलि (बिहीबार) बिहान १० बजेसम्म सबै आउला । करिब दुई सय ५० घरमा बाढी पसेको प्रारम्भिक सूचना छ,’ उनले भने । रूपनी गाउँपालिकामा खाँडो नदी होचो तटबन्ध पार गरेर बस्तीमा पस्दा रूपनी– १ का ५० भन्दा धेरै घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए । ‘साना बालबालिका छन्, बाढी पसेपछि सबै बर्बाद भयो,’ रूपनी गाउँपालिका– १ का असियादेवी महतोले भनिन्, ‘के खाने सबै थोक बाढीले डुबाइदिएको छ ।’ तिलाठी कोइलाडी गाउँपालिकामा जितानदीको बाढीले वडा नम्बर ७ नवटोलियाको सरदार बस्ती डुबानमा परेको छ । यहाँका २५ घरमा बाढी पसेको छ । त्यस्तै, जिता नदीमा आवतजावतका लागि निर्माण गरिएकोे बाँसको पुल (चचरी) बगाएको छ । चचरी बगाउँदा सरदार बस्तीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । तिलाठी कोइलाडी गाउँपालिका– ७ का स्थानीय दरपी मरिकका बंगुर पनि बाढीले बगाएको छ । ‘बंगुर पालेर गुजारा गर्दै आएको थिएँ, त्यो पनि बाढीले बगायो,’ उनले भने । हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हटिया लाग्ने स्थानसँगै आफूहरूको घरआँगनबाट समेत कोशी बगिरहेको स्थानीयवासी कुशेश्वर यादवले बताए । घरमा पानी छिरेपछि केही सामान लिएर उनी आफन्तकहाँ आश्रय लिएर बसेका छन् । कञ्चनरूप नगरपालिकाका वडा नम्बर ३ र ११, तिरहुत गाउँपालिकाका वडा नम्बर १ र २, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ३ र ४, शम्भुनाथ नगरपालिका– २ तथा राजविराज नगरपालिकाका केही वडामा गरेर एक सय ५० घर घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले महुली खोलाको बाढीले कञ्चनरूप नगरपालिकामा दुई सय मिटर तथा तिरहुत गाउँपालिकामा सय मिटर बाँध भत्काएको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले प्रारम्भिक रूपमा स्थानीय विपत् व्यवस्थापन समितिसँग समन्वय गरेर राहत र उद्धारका काम भइरहेको बताए । चितवनमा खोलाले बगाउँदा एक बेपत्ता  बाढीमा परेर चितवनमा माडी नगरपालिका– ५, छर्छरेका रणबहादुर कामी बेपत्ता भएका छन् । उनलाई मगुई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कामी माडीको सदमुकाम वसन्तपुर बजारबाट आफ्नो घर खैरहनी जाँदै गर्दा वडा नम्बर ४ र ५ को सिमानामा रहेको मगुई खोलाको बाढीमा परेको प्रहरीले जनाएको छ । मनसुन सुरु भएयता बाढी, पहिरो र अविरल वर्षाबाट ३३ जिल्ला र चट्याङबाट २६ जिल्ला प्रभावित भएका छन् । प्राकृतिक विपत्बाट यस अवधिमा ८६ लाख ८७ हजार रुपैयाँ मूल्यबराबरको क्षति भएको प्राधिकरणको हिसाब छ । आरीघोप्टे वर्षाले विराटनगर जलमग्न मंगलबार रातिदेखिको आरीघोप्टे (आकलनभन्दा बाहिरको) वर्षाले बुधबार विराटनगर जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विराटनगरमा मंगलबार राति र बुधबार बिहान गरी ३४१.८ मिलिमिटर वर्षा भएको छ, जुन अत्यधिक वर्षा हो । एक मिनेटमा एक मिलिमिटरभन्दा बढी वर्षा हुनु भनेको भीषण वर्षा हो । यस्तो वर्षा एक घण्टा वा त्यसभन्दा बढी समयसम्म भयो भने बाढी, डुबान र पहिरोको जोखिम उच्च हुन्छ । लगातारको वर्षाको कारण विराटनगरका वडा नम्बर ४, ५, ६, ८, १२, १५, १६, १७, १८ जगमग्न भएको मेयर नागेश कोइरालाले बताए । ‘विराटनगरको पूर्व र पश्चिममा खोला छ । ठूलो पानी आएपछि खोला बस्तीमा पस्छ । खोला आएपछि ड्रेनले थेक्न सक्दैन,’ उनले भने, ‘जसका कारण बस्ती र बजार क्षेत्र जलमग्न छ ।’ डुबानबाट विस्थापित भएकालाई विद्यालय र सार्वजनिक भवनमा राखिएको छ । ‘खाद्यान्न, खानेपानी पुर्‍याइरहेका छौँ । महानगरले खोलाको एक सय मिटरआसपास बस्नेलाई एसएमएसमार्फत पनि सचेत गराइरहेको छ,’ मेयर कोइरालाले भने । अविरल वर्षाले विराटनगरस्थित विमानस्थल जगमग्न हुँदा बुधबारका सातवटा उडानसमेत अवरुद्ध भएका थिए । मनसुनको सुरुवाती चरणमा भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको छ डिजन भट्टराई, प्रवक्ता, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मुलुकमा मनसुन सुरु भएको दुई साता भएको छ । यस अवधिमै बाढी, पहिरो र चट्याङका २१५ घटना भएका छन् । धेरैले ज्यान गुमाएका छन् । आर्थिक क्षति पनि धेरै भएको छ । संकेत त्यति राम्रो छैन । स्थानीय चनाखो भएर बस्नुपर्ने अवस्था देखिएको छ । तयारी अवस्थामा तीनवटै सुरक्षा निकाय उद्धारमा शीघ्र खटिन निमित्त आइजिपीको निर्देशन  नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बुधबार भर्चुअल माध्यमबाट देशभरिका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले विपत्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत–साधनको भरपूर प्रयोग गरी आफू सुरक्षित भई उद्धार कार्यमा खटिन भनेका हुन् । नेपाल प्रहरीले पनि उद्धारमा विशेष तयारी गरी कार्यान्वयन गरिएको जनाएको छ । सशस्त्र प्रहरीको ५० विशेष टोली परिचालन  सशस्त्र प्रहरी बलले प्रतिकार्यका लागि आवश्यकताका आधारमा देशैभरि ५० विशेष टोली परिचालन गरेको छ । बाढी, पहिरो तथा डुबानका उच्च जोखिम रहेका स्थान पहिचान गरी तत्काल उद्धारका लागि यस्ता टोलीहरू परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार नौ स्थानमा सशस्त्र प्रहरीका विपत् व्यवस्थापन बेसहरू नै रहेका छन् । त्यसबाहेक पनि सम्भाव्य जोखिमको विश्लेषण गरी विशेष टोलीहरू परिचालन गरिएको छ । ‘एकपटकमा २४सै घण्टा रहने गरी ५४६ इकाइहरूमा ७ हजार ४५५ जनाको जनशक्ति तयारी अवस्थामा राखेर परिचालन गरिएको छ,’ उनले भने । ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १२० वटा मोटरबोट तथा र्‍याफ्ट बोटहरू तयारी अवस्थामा रहेको डिआइजी न्यौपानेले बताए । तीन स्थानमा सैनिक हेलिकोप्टर तयारी अवस्थामा  इटहरी, काठमाडौं र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । त्रिभुवन विमानस्थलमा १५ मिनेटभित्र हेलिकोप्टरमार्फत खटिने गरी अर्काे विशेष टिम राखिएको छ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ कार्यान्वयनमा लगिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए । कतै राजमार्ग अवरोध हुने अवस्था आएमा सैनिक इन्जिनियरिङ विभागलाई पनि तयारी अवस्थामा राखिएको छ । पुल भत्किएर राजमार्ग अवरोध भएमा तत्काल सञ्चालन गर्ने गरी धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिजसमेत राखिएको छ । गाडीबाट लैजान सकिने तीनवटा दु्रत यान्त्रीकृत पुलहरू काठमाडौंमा तयारी अवस्थामा छन् । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार