सुन्दरहरैंचामा उत्कृष्ट १२ ‘ढुकुर जोडी’ सम्मानित : सहकार्य, माया र समझदारीको सम्मान

आइतबार, २९ असार २०८२

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक उदाहरणीय सहजीवन बिताइरहेका १२ दम्पतीलाई ‘उत्कृष्ट ढुकुर जोडी’को रूपमा सम्मान गरेको छ। आइतबार सम्पन्न एक विशेष समारोहमार्फत नगरभित्रका हरेक वडाबाट छानिएका १२ दम्पतीलाई नगद १०–१० हजार रुपैयाँ र सम्मानपत्रसहित नगर प्रमुख र अन्य पदाधिकारीहरूले सम्मान गरेका हुन्।

नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट ढुकुर जोडी सम्मान’ योजना समावेश गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। प्राप्त ४८ दम्पतीको आवेदनबाट प्रत्येक वडाबाट १–१ गरी १२ जोडी संयुक्त परिवारमा बस्ने, आपसी समझदारी, झैझगडा नहुने, सामाजिक सहभागिता आदि मापदण्डका आधारमा छनोट गरिएको हो।

सम्मानित दम्पतीहरू यस प्रकार छन् :

वडा १: केशवप्रसाद काफ्ले र कञ्चन दाहाल

वडा २: सचिदानन्द साह र संगीताकुमारी गुप्ता

वडा ३: ध्रुव निरौला र अनु दाहाल

वडा ४: डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल

वडा ५: वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल

वडा ६: बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे

वडा ७: बलिराम चौधरी र फुलोदेवी चौधरी

वडा ८: खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने

वडा ९: योगराज कार्की र हिमकुमारी कार्की

वडा १०: बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल

वडा ११: वेदकुमार खवास र केसवती खवास

वडा १२: अम्बरबहादुर मगर र ताराकुमारी मगर

नगरपालिकाका न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेका अनुसार, पछिल्लो समय पति–पत्नीबीचका विवादजन्य उजुरीको संख्या बढ्दै गएको पृष्ठभूमिमा यस्तो कार्यक्रमले सकारात्मक सन्देश र अनुकरणीय उदाहरण दिन सक्ने विश्वास गरिएको छ।

"हामीले सहमतिपूर्ण र सम्मानजनक दाम्पत्य जीवन जिउने जोडीलाई प्रोत्साहन दिन यस्तो कार्यक्रम अघि बढाएका हौं," उनले भने।

नगर प्रमुख केदारप्रसाद गुरागाईंले भने, "समाज मर्यादित हुन व्यक्ति मर्यादित हुनुपर्छ। यस्ता सहमतिपूर्ण र उदाहरणीय जोडीहरू सामाजिक पुँजी हुन्, र तिनलाई रोलमोडलको रूपमा स्थापित गर्नुपर्छ।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार