रवि लामिछानेलाई गगन थापाको चुनौती :जति फाइल खोल्नु छ खोले हुन्छ

विहीबार, २० असार २०८१
इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई फाइल खोल्न चुनौती दिएका छन् । बिहीबार नेपाली कांग्रेस इटहरीको नगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भ्रष्टाचारका फाइल खोल्न लामिछानेलाई चुनौती दिए । ‘साथी अझै मन्त्रालयमा हुनुहुन्छ, अझै दुईचारदिन बस्नुहुन्छ । जति फाइल खोल्नु छ खोले हुन्छ, जजसको खोल्नु छ खोले हुन्छ,’ उनले भने, ‘अब बजारमा गएर हामीले त यो काण्ड खोल्दैथियौँ भनेर भन्नुहुन्छ, जनतालाई झुक्याउने अवस्था बन्न सक्छ ।’ उनले सरकारमा बसुञ्जेल काम नगर्ने र प्रचारबाजी मात्रै काम गरेको बताए । उनले लामिछाने अझै सरकारमै रहेको र फाइल खोल्ने भए अझै समय रहेको समेत बताए । यसैबीच महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताए । ‘अर्थतन्त्रको बेहाल भएको अवस्थामा बजारले विश्वास गुमाएको छ । यो बेलामा कांग्रेस र एमाले एक हुनुपरेको हो,’ उनले थपे, ‘यो संवाद प्रतिपक्षमै बसेर पनि हुन्थ्यो होला, तर प्रचण्डले धेरै चकचक नगर्नुभएको भए ।’ उनले संवैधानिक व्यवस्थालाई जोगाउनका निम्ति, पुनरावलोकन गर्नका निम्ति, एमालेसँग मिलेर सरकार गठन गर्नुपरेको अवस्था थियो । उनले भने, ‘मेरो चाहना २०८४ सालसम्म कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्ने थियो । तर, अनुमानले इच्छालाई जितेकोजस्तो भयो ।’ उनले प्रचण्ड चकचक गर्ने, उपद्रो गर्ने र अस्थिर चरित्र भएको संज्ञा दिए । थापाले भने, ‘प्रचण्डको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो, कोही झुक्न बाँकी थिएन । चकचक यति धेरै भइसकेको थियो कि उहाँले सम्हाल्न सक्ने अवस्था थिएन ।’ उनले अब कांग्रेसबाट सरकारमा सहभागी हुने कसैलाई पनि गल्ती गर्ने छुट नहुनेसमेत बताए । पटकपटक मन्त्री भएका मान्छेले यो पटक विश्राम लिनुपर्ने र अब मन्त्री हुनेहरू जोस पनि भएको, होस पनि भएको र परणाम दिनसक्ने भोक भएको मान्छेलाई लैजान आवश्यक रहेको उनको भनाइ छ । उनले कांग्रेस र एमालेको गठबन्धनले सरकार गठन भएसँगै संविधान संशोधन हुने र संविधान संशोधनका निम्ति माओबादीसहित अरु दलको पनि आवश्यकता पर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार