विराटनगर । मोरङमा आइतबार साँझ चालक बिनाको कारभित्र १ सय १५ किलोग्राम गाँजा भेटिएको छ ।
बूढीगंगा गाउँपालिका–१ आदर्श टोलस्थित सडकमा रोकेर राखिएको रातो रङ्गको कारबाट ठुलो परिमाणमा लागूऔषध गाँजा फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नहरनजिक भित्री सडकमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कारभित्र गाँजा भेटिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सई) प्रवीण खड्का नेतृत्वको टोलीले साँझ ५ बजेतिर गाँजा लोड गरिएको कार नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी वेदप्रसाद जोशी नेतृत्वको टोली घटनास्थल पुग्यो । डिएसपी जोशी र सई खड्का नेतृत्वको संयुक्त टोलीले कार चेकजाँच गर्दा गाँजा भेटिएको हो ।
डिएसपी बस्नेतले कारको पछाडिको भागमा लुकाएर राखेको अवस्थामा अवैध गाँजा फेला परेको जानकारी दिए । उनका अनुसार बरामद भएको गाँजासहित कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ । कार भएको स्थानमा चालक फेला नपरेको उनले बताए ।
बस्नेतले कार कसको हो र चालक को थिए तथा गाँजा कसले एवं कहाँसम्म लगेको र कहाँदेखि ल्याएको भन्ने बारेमा यकिन नभएको बताए । अनुसन्धानबाट सबै कुरा पत्ता लाग्ने तथा कार धनी र चालकको खोजतलास भइरहेको जानकारी उनले दिए ।
भारततर्फ कटाउनलाई कारको प्रयोग गरेर गाँजा ओसारपसार गरिएको र प्रहरी आएको थाहा पाएर कार छाडी चालक फरार बनेको हुनसक्ने अनुमान गरिएको छ ।
लागू औषधलगायतका अवैध वस्तुको ओसारपसार हुने गरेको पाइएपछि सवारीसाधनमाथि निगरानी र चेकजाँच बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग गरेर गाँजालगायतका वस्तु ओसारपसार हुने गरेको पाइएपछि अवैध धन्दा नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको जानकारी उनले दिए ।
सवारीसाधनमा निगरानी र चेकजाँच बढाउँदै शङ्कास्पद स्थानमा प्रहरीले खानतलासीसमेत गरिरहेको उनको भनाइ छ । गलत काम भइरहेको कुनै सूचना भएमा तत्काल प्रहरीलाई उपलब्ध गराउन र अवैध धन्दा नियन्त्रणमा सहयोग गर्न एसपी कार्कीले सबैमा आग्रह गरेका छन् ।
प्रतिक्रिया