इटहरी । कोशी प्रदेशमा नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याएर ट्राफिक प्रहरीले पछिल्लो ११ महिनामा १५ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ट्राफिकले १५ करोड ७३ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष अन्त्य हुँदासम्ममा १६ करोड बढी राजस्व उठ्ने देखिन्छ । चालु आवको जेठ महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने २ लाख ३२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता, डिएसपी मोहनविक्रम दाहालले बताए ।
उनका अनुसार कारबाहीमा परेका २ लाख ३२ हजार ८ सय ४८ मध्ये ५ हजार ६ सय ५८ वटा मापसे ९मादक पदार्थ सेवन० गरेर चलाइएका सवारीसाधन छन् । उक्त अवधिमा स्वरूप परिवर्तन गरिएका ३ सय २९ वटा बुलेट मोटरसाइकललाई कारबाही गरिएको जानकारी डिएसपी दाहालले दिए । साइलेन्सर पाइप परिवर्तन गरिएको अवस्थामा फेला पारेर बुलेट मोटरसाइकललाई कारबाही गरिएको उनको भनाइ छ ।
नियम विपरीत कुदाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गर्ने गरेको छ । एउटा सवारीसाधनलाई ५ सयदेखि १ हजार ५ रुपैयाँसम्म जरिवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । कसुरको अवस्था हेरेर सवारीसाधनलाई कारबाही गर्ने गरिएको डिएसपी दाहालले बताए ।
पछिल्लो ११ महिनामा कोशी प्रदेशभित्र ३ हजार १ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ३ सय ७७ जनाको मृत्युको छ । ५ हजार ४ सय जना घाइते भएका छन् । ८ वटा चौपाया मरेका छन् । ट्राफिकका अनुसार कोसीको दैनिक औसत मृत्युदर १.१२ रहेको छ ।
दुर्घटना न्यूनीकरण र त्यसबाट हुने मानवीय तथा भौतिक क्षति रोक्ने उद्देश्य राखेर ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । हालसम्म २९ हजार ६ सय ४७ वटा जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ७ लाख २८ हजार जनाभन्दा बढी लाभान्वित भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख, एसपी सरोज पौडेलले प्रदेश खबरलाई बताए ।
उनका अनुसार विद्यार्थीलाई लक्षित गरेर शैक्षिक संस्था केन्द्रित ६ सय ८८ वटा कार्यक्रम गरिएको छ । विभिन्न चरणमा गरिएका कार्यक्रममा ४० हजार ८ सय ८२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
सामुदायिक सेवामार्फत कक्षा सञ्चालन गर्नेदेखि नयाँ चालक, व्यवसायी, चालक एवं परिचालक र पैदल यात्रीलाई लक्षित गरेर कक्षहरू सञ्चालन गरिएको एसपी पौडेल बताउँछन् । साथै, अन्तरक्रिया, चेतनामूलक माइकिङ, ‘ओभरटेक’ सम्बन्धी सचेतना, चालक र यात्रुमैत्री तथा चालक एवं यात्रुहरूसँग ५ मिनेट कार्यक्रम सञ्चालन र पर्चा, पम्प्लेट तथा पोस्टर वितरणलाई ट्राफिकले प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । उनका अनुसार केही समयअघि ट्राफिक सप्ताहसमेत सम्पन्न भएको छ ।
प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा ‘ट्राफिक भाइलेसन रेकर्ड सिस्टम’ (टिभीआरएस) लागू गरिएको पौडेलले बताए । उनका अनुसार सुनसरीको इटहरी र धरान, मोरङको विराटनगर, झापाको बिर्तामोड र दमक, उदयपुरको त्रियुगा, धनकुटा, इलाम, सोलुखुम्बु, ओखलढुङ्गा र भोजपुरमा ‘टिभीआरएस’ लागू गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन/नियम विपरीत सञ्चालन हुने सवारी साधनलाई विगतमा सडकमै नगदी रसिद थमाएर कारबाही गर्ने गरिएको थियो । तर, यो प्रणाली सुरु भएयता कसुर बमोजिमको २४ घण्टे चिट काटेर ‘टिभीआरएस’मा दर्ता गरी चालक तथा सवारी धनीले बैङ्किङ प्रणालीमार्फत राजस्व बुझाएपछि मात्रै कागजपत्र फिर्ता लैजान पाउँछन् । ट्राफिक कारबाहीलाई प्रविधियुक्त बनाउन ‘टिभीआरएस’ लागू गरिएको र यो प्रभावकारी देखिएको एसपी पौडेलले बताए ।
उनका अनुसार सिटी सफारी-विद्युतीय रिक्सालाई व्यवस्थित बनाउन विशेष अभियान चलाइएको छ । २०८० माघ ७ गतेदेखि सुरु भएको अभियानयता नियम उल्लङ्घन गर्ने १ हजार ५ सय २९ वटा सफारी ट्राफिक कारबाहीमा परिसकेका छन् । सफारीको कागजपत्र चेकजाँच, चालकलाई प्रशिक्षणलगायतको कामलाई तीव्रता दिइएको उनले बताए ।
पौडेलका अनुसार इटहरीमा जडान भएको ट्राफिक लाइटको पालना, पार्किङ व्यवस्थापन, लेन अनुशासनको पालनामा कडाइ, जेब्रा क्रस निर्माण, सडक डिभाइडरको व्यवस्थापनलगायतको कार्यमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरिएको छ । विराटनगरको बरगाछी र उदयपुरको गाईघाटमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
ट्राफिकको सक्रियतामा मुख्य बजार क्षेत्रमा सडक तथा फुटपाथको अतिक्रमण हटाएर पार्किङ व्यवस्थापन, लापसे (लागू पदार्थ सेवन) चेकजाँच, विभिन्न सडकमा ५१ वटा सिसी क्यामेरा जडान, एनपीआर क्यामेरा जडान र उदयपुर हुँदै लामो दूरीमा चल्ने ११ वटा सवारीसाधनमा जिपिएसरसिसी टिभी जडान गरिएको छ । विभिन्न समयमा गरिएको चेकजाँचका क्रममा १ सय ३ जना चालकले लापसे गरेको फेला परेको थियो ।
सवारी आवागमनलाई व्यवस्थित र सडक सुरक्षालाई प्रभावकारी बनाउँदै दुर्घटना एवं जनधनको क्षति न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाउन विभिन्न स्थानमा ‘रोड सेक्युरिटी चेकपोइन्ट कन्सेप्ट’ (आरएससीसी) सञ्चालन गरिएको छ । एसपी पौडेलले इलामको जोर कलश, किटेनी, झापाको तारबारी, धनकुटाको मूलघाट, सुनसरीको सखुवागाछी, कटान र दुहबीमा आरएससीसी सञ्चालनमा रहेको बताए ।
उनका अनुसार चोरीका सवारीसाधन पत्ता लगाएर नियन्त्रणमा लिन २०८० पुस १९ गतेदेखि ‘भीएसयू’ शाखा सञ्चालनमा ल्याइएको छ । चोरी भएकामध्ये हालसम्म २१ वटा मोटरसाइकल, ६ वटा ४ पाङ्ग्रे र १ वटा ३ पाङ्ग्रे गरेर २८ वटा सवारीसाधन फेला पारिएको जानकारी उनले दिए । उनका अनुसार ८ वटा सम्बन्धित धनीलाई बुझाइएको छ भने अन्य अनुसन्धानकै प्रक्रियामा छन् ।
बाक्लो हुस्सु र कुहिरोबाट हुने सवारी दुर्घटना न्यूनीकरणको उद्देश्य राखेर सडकमा ढिलो गतिमा कुद्ने २१ हजार ७० वटा सवारीसाधनमा परैबाट टल्किने एवं प्रस्टसँग देख्न सकिने ‘रिफ्लेक्टर’ टाँसिएको पौडेलले बताए । हुस्सु लाग्दा तथा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न प्रदेशभित्र ५६ किलोमिटर सडकमा ‘क्याट आई’ राखिएको उनको भनाइ छ ।
उनका अनुसार पहाडी तथा घुमाउरा सडकमध्ये १ सय ८ स्थानमा ‘कन्भेक्स मिरर’ राखिएको छ । यसले घुमाउरो सडकमा गुडिरहेका सवारीसाधन पत्ता लगाउन मद्दत गर्छ ।
लामो दूरीका यात्रुवाहक सवारीसाधनमा चालक परिवर्तन भएरनभएको चेकजाँच गर्न तथा नेपालबाट भारततर्फ बाहिरिने र भारतबाट नेपाल भित्रिने सवारीसाधनको नियमन गर्न ‘ट्राफिक कम्युनिकेसन एप्स’ प्रयोगमा ल्याइएको एसपी पौडेलले बताए । उनका अनुसार सुनसरीको कोशी कटान, भन्टाबारी, विराटनगरको रानी, झापाको तारबारी, काँकडभिट्टा र इलामको पशुपतिनगरमा एप्स प्रयोगमा ल्याइएको छ ।
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि लेन अनुशासनको पालना, ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता, सवारीसाधनको गति तथा मापसे र लापसे चेकजाँच, प्रयोजन विपरीत सञ्चालन हुने सवारी नियन्त्रण, भारवान क्षमता कार्यान्वयन, राजमार्ग गस्ती तथा क्यूआरटी परिचालन, प्रविधिको जडान र प्रयोग, सवारीसाधनको कागजात चेकजाँच, फुटपाथ एवं पार्किङ व्यवस्थापन ट्राफिकको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
साथै, सवारीसाधनमा भाडा दरको पारदर्शिता, आरक्षित सिटको कार्यान्वयन, यात्रुका सामानको सुरक्षा, प्रयोजन विपरीतको सञ्चालनलाई पूर्ण निरुत्साहित, टाइम कार्ड कार्यान्वयन, चालकको स्वास्थ्य परीक्षण, ट्राफिक सङ्केत तथा जानकारीमूलक बोर्डहरूको व्यवस्था, सडकका हाटबजार स्थानान्तरणतर्फ पनि ट्राफिकले काम गरिरहेको छ ।
प्रतिक्रिया