विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाले शेयर बजारमा उछाल

आइतबार, ३० असार २०८१
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । नेप्से ५२.९७ अंकले बढेर २ हजार २५७ दशमलब ५९ विन्दुमा पुगेको छ । आइतबार सात अर्ब ६२ करोड ४ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा २०१ कम्पनीको शेयरमूल्य बढेको छ । सरकार परिवर्तन भएसँगै शेयर बजार निरन्तर उकालो लागि रहेको छ । लगानीकर्तामा शेयर बजारले ऊर्जा थपेको हो । ओरालो लागिरहेको नेपाली शेयर बजार १७ गतेदेखि भने निरन्तर उकालो लागि रहेको हो । असार २४ गते सामान्य करेक्सन भएको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) त्यसपछि फेरि लगातार बढी रहेको छ । नयाँ सरकारको अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको सिंहदरबारमा प्रवेश हुने चर्चा आइतबार पुँजी बजारमा भएको उच्च वृद्धिको प्रमुख कारकका रुपमा देखिएको छ । शेयर बजारका चर्चित लगानीकर्ता छोटेलाल रौनियार विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बज्रमा उत्साह थपिएको स्विकार्छन् । पौडेलले के गर्छन् ? यसअघी के त्यस्तो गरे ? र, अहिले उनको नाममै बजार बढ्नुको खास कारण के हो ? भन्ने आर्थिकन्यूजको प्रश्नको जवाफमा रौनियारले भने, ‘उनी अर्थमन्त्री भएकै बेला नेप्सेले १८ सय ८१ को लाइन ब्रेक गरेर ३२ सयसम्म पुगेको हो । त्यसैले उनी आउँदा लगानीकर्ता उत्साहित हुन्छन् ।’ विष्णु पौडेलले पनि विगतमा मन्त्री पुँजी बजारलाई सहज पार्ने कुनै ठोस नीति भने नल्याएको  उनी बताउँछन् ।  ‘विगतमा दुई पटक नै बढेको थियो उनी मन्त्री हुँदा त्यसैले यो पटक ह्याट्रिक हुन्छ कि भन्ने आशा छ’, उनले अगाडी थपे, ‘विष्णु पौडेलले पुँजी बजारलाई लाभ हुने खासै काम नगरेता पनि उहाँसँग बजारको ग्रहदशा मिलेको र उहाँप्रति विश्वास भएको जस्तो देखिन्छ ।’ एमालेको प्रधानमन्त्री, एमालेकै अर्थमन्त्री र एमाले निकट मानिएका गभर्नर सबै एकै लाइनमा हुँदा मौद्रिक नीति पनि राम्रो आउँछ भन्ने लगानीकर्ताको बुझाई रहेको छ । अब आउने मौद्रिक नीतिले शेयर बजारका लागि राम्रा नीति ल्याउनु पर्ने लगानीकर्ताको माग छ । छोटेलाल भन्छन् , ‘१५ र २० को जुन नीति छ त्यो नीति हटाउनुपर्छ, कर्जा माग्नेलाई कर्जा दिने सहज र दिगो नीति लिएर आउनुपर्छ ।’ अर्का लगानीकर्ता केशव कोइराला भने कुनै मन्त्रीको परिवर्तन वा व्यक्ति विशेषको कारणले भन्दा पनि नीतिगत सुधारका आधारमा बजार बढ्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘नीतिगत परिवर्तन हुनुपर्न । हामी आफ्नै सोचमा पनि परिवर्तन जरुरी छ ।’ जति धेरै कम्पनीहरू बजारमा आए त्यति मुलुकका लागि नै राम्रो हुने र  जनताले काम पाउने उनको ठम्याई रहेको देखिन्छ । तर, त्यस्तो बुझाई नरहेकोमा उनी चिन्तित छन् । कोइराला भन्छन्, ‘देशमा छरिएर रहेको पुँजी बैंकिङ च्यानलमा आयो र कम्पनीहरूको आइपियो खुल्यो भने त्यो राम्रो कुरा हो । तर, यहाँ उल्टो बुझ्छन् । त्यस्तो सोच हटाउनु पर्ने हुन्छ ।’ शेयर बजारको नीति पटक पटक परिवर्तन हुँदा लगानीकर्ताहरू आजित भएको उनले गुनासो गरे । त्यसैले उनको राष्ट्र बैंकले स्थिर र पुँजी बजार मैत्री मौद्रिक नीति ल्याइदेओस् भन्ने कामना रहेको देखिन्छ । कोइराला भन्छन्, ‘नीतिहरू पटक पटक परिवर्तन गरि राख्नु भएन । लगानीकर्तालाई सहज हुने स्थिर नीति चाहियो । त्यस्तो आइदिए हुन्थ्यो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार