भुवन शर्माकाठमाडौँ : यतिबेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ।
उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ। अहिलेसम्म लाखौं भक्तजनले कोटिहोमको दर्शन गरिसकेका छन्। एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो। कोटिहोममा सहभागी भक्तजनले करोडौं रूपैयाँ सहयोग गरिरहेका छन्। सोमबार मात्र झन्डै साढे दुई करोड रूपैयाँ जम्मा भएको पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले जनाए।
कोटिहोमका लागि खिचिएको ड्रोन भिडियो र कोटिहोमभित्र खनिएका खाल्डाका कारण यतिबेला पुरातत्त्व विभाग र आयोजकबीच विवाद सुरु भएको छ। मुख्य आयोजक बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजको फेसबुक आइडीमा कोटिहोमको मात्र नभई पशुपति मन्दिरपरिसर, बागमती नदी, हंसमण्डप क्षेत्र, कैलाश डाँडा तथा मूल मन्दिरसमेत देखिने गरी ड्रोनबाट खिचिएको भिडियो राखिएको छ। उक्त भिडियो ड्रोन क्यामराबाट खिचिएको देखिन्छ। यस विषयमा विवाद उत्पन्न भएको छ।
आयोजकहरूले भने पशुपतिपरिसरको ड्रोन भिडियो आफूहरूबाट नखिचिएको, कसैले खिचेको भिडियो सेयर मात्र गरेको जनाएका छन्। पुरातत्त्व विभागले विभागको अनुमति नलिई मन्दिरपरिसरको भिडियो ड्रोनबाट खिच्नै नमिल्ने जनाएको छ। पशुपति क्षेत्र पुरातात्त्विक दृष्टिकोणबाट पनि अत्यन्त संवेदेनशील क्षेत्र भएकाले तोकिएको निकायबाट अनुमति नलिई मन्दिरपरिसरमाथि ड्रोन उडाउनै नमिल्ने विभागले जनाएको छ।
विजयकृष्ण मूर्तिजी महाराजले भने, ‘हामीसँग ड्रोन क्यामरा नै छैन। हामीले भिडियो खिचेका होइनौं। कसैले खिचेको भिडियो हामीले सेयर गरेका मात्र हौं।’ आफ्नो आइडीबाट चलाएको फेसबुक आफूले नभई आफ्ना कर्मचारीले चलाउने गरेको उनको भनाइ छ। ‘म निकै व्यस्त छु। फेसबुक चलाउन पाएको छैन। मेरो नामबाट कर्मचारीले चलाएको होलान्।’
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले आयोजकहरूले कोटिहोमभित्र ‘इनडोर’ भिडियो खिच्न सक्ने तर आउटडोर भिडियो मन्दिरपरिसर, कैलाश डाँडालगायत क्षेत्रमा ड्रोन उडाउन नमिल्ने बताए।
पशुपति क्षेत्र विकास कोषले मन्दिरपरिसरको भिडियो ड्रोनबाट खिच्न आयोजकहरूलाई अनुमति नदिएको उनको भनाइ छ। पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले पुरातत्त्व विभाग, गृह मन्त्रालय, सञ्चार मन्त्रालय तथा विकास कोषको अनुमति लिएर मात्र पशुपतिपरिसरमा ड्रोनबाट भिडियो खिच्न सकिने बताउँदै अनुमति नलिई ड्रोनबाट भिडियो खिचिएको विषय अत्यन्तै गम्भीर भएको बताइन्।
पशुपतिपरिसरको ड्रोन भिडियो खिच्न विभागले अनुमति नदिएको उनले प्रस्ट पारिन्। यस विषयमा विभागले सोधपुछ गर्ने र ड्रोन भिडियो खिचेको थाहा पाए कारबाही गर्न सिफारिस गर्ने उनको भनाइ छ।
कोटिहोममा खनिएका खाल्डाका विषयमा पनि उनले गम्भीर आपत्ति जनाइन्। कोटिहोमका आयोजकले खाल्डो खनिएको ठाउँमा लिच्छिविकालीन समयका भग्नावशेषहरू देखिएको बताउँदै विभागको अनुमति नलिई खाल्डो खन्नु अनधिकृत काम भएको बताइन्।
‘कोटिहोममा अनधिकृत रूपमा खाल्डा खनिएका छन्। हामीले पशुपति क्षेत्र विकास कोषलाई चिठी लेखेरै खाल्डो पुर्न निर्देशन दिइसकेका छौं,’ उनले भनिन्। विकास कोषका प्रवक्ता अधिकारीले भने हंसमण्डपपरिसरमा खाल्डो खन्न कोषले अनुमति नदिएको बताए।
आयोजक बालयोगेश्वरले भने विकास कोषसँग अनुमति लिएरै खाल्डो खनिएको बताए। ‘हामीले विकास कोषसँग अनुमति लिएरै खाल्डो खनेका हौं। कोटिहोम गर्न बकाइदा अनुमति लिएका हौं। कोटिहोम भन्नेबित्तिकै हवन पनि जोडिन्छ,’ उनले भने, ‘हवन गर्नका लागि खाल्डो खन्नैपर्छ।’
मानव सेवा फाउन्डेसन नेपाल, हिन्दु सेना नेपाललगायत ११ वटा संघसंस्था आयोजक रहेको उक्त कोटिहोममा १० लाखभन्दा बढी भक्तजन उपस्थित हुने अनुमान गरिएको छ। ‘इतिहासमै पहिलो पटक’ भन्ने नारा राखेर कोटिहोमका लागि ठुलो प्रचारप्रसार गरिएको छ।
कोटिहोम प्रारम्भ गरेको दिनको विषयमा पनि विवाद उत्पन्न भएको छ। उक्त दिन महायज्ञ गर्न उपयुक्त साइत नभएको तर्क केही ज्योतिषीहरूले राखेका छन्। असार शुक्ल पक्षको दशमीको दिन हवन गर्दा त्यसले पीडादायक मात्र फल दिने केही ज्योतिषीहरूको भनाइ छ। आयोजक बालयोगेश्वरले भने पञ्चाङ्ंग निर्णायक समितिसँग सरसल्लाह गरेरै कोटिहोम सुरु गरिएको बताए।
दक्षिणासहित देवी प्रतिभाजीको बिदाइ?
पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीका अनुसार कथावाचिका देवी प्रतिभा पराजुलीले सोमबारदेखि कोटिहोमबाट बिदाइ लिएकी छिन्। उनले सोमबार नै दक्षिणा बुझेको बताइएको छ। दक्षिणाको विषयमा दुवै पक्षले गोप्य राखेका छन्।
पराजुलीले आइतबार र सोमबार बिहान रामकथा प्रवचन गरेकी थिइन्। आयोजकको विशेष आग्रहमा थप दुई दिन कोटिहोममा कथा वाचन गरेकी हुन्। यसअघि उनी शनिबार काठमाडौंबाट फर्कने कार्यक्रम तय गरिएको थियो।
काभ्रेको मण्डन देउपुर नगरपालिकामा २३ वर्षअघि जन्मेकी पराजुली १२ वर्षको उमेरमै भारतको वृन्दावन पढ्न गएकी थिइन्। त्यहाँबाट उनले संस्कृत विषयमा आचार्यसम्मको शिक्षा उत्तीर्ण गरेकी छिन्। त्यहाँबाटै उनले कथावाचन गर्न सुरु गरेकी थिइन्। नेपाल आउँदा उनले वरिपरि आठ जना गार्ड (सुरक्षाकर्मी) लिएर आएकी थिइन्। उनले ल्याएका सुरक्षाकर्मीको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया