गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा मोरङका दुई युवक बेपत्ता : खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली परिचालन

सोमबार, १२ साउन २०८२

रसुवा : रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको खोजी कार्य तीव्र पारिएको छ।

आइतबार दिउँसो मोरङको बेलबारी ११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका हुन्।

घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त खोज तथा उद्धार टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त विशेष टोली परिचालन गरिएको छ भने अन्य सुरक्षा निकाय पनि घटनास्थलमा छन्।

गोसाइँकुण्डमा यसअघि पनि यस्ता घटना भएका छन्। प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा हजारौँ भक्तजन गोसाईंकुण्ड पुग्ने गर्छन्।

तीर्थ स्नान गर्ने क्रममा पानी चिसो, गहिरो र फिसलनका कारण पौडी खेल्दा वा स्नान गर्दा डुबेर ज्यान गुमाउने वा बेपत्ता हुने घटनाहरू दोहोरिँदै आएका छन्।

गत वर्ष पनि जनैपूर्णिमाका समयमा भक्तपुरका एक युवक स्नानका क्रममा डुबेर बेपत्ता भएका थिए भने सन् २०२२ मा गोसाईंकुण्ड क्षेत्रमै अर्का तीर्थालुको शव झन्डै दुई दिनपछि फेला परेको थियो।

यस्ता घटनाबाट सिक्दै सुरक्षाका उपाय कडा बनाउने प्रयास भए पनि सतर्कता र सावधानी नअपनाउँदा दुःखद घटना दोहोरिने गरेको स्थानीय प्रशासनको भनाइ छ।

सुरक्षा निकायले तीर्थयात्री तथा पर्यटकहरूलाई गोसाइँकुण्डमा अत्यन्त सावधानीपूर्वक स्नान वा पौडी खेल्न आग्रह गरेका छन्। डुबेका युवकहरूको खोजी जारी छ भने उनीहरू जिउँदो वा मृत अवस्थामा फेला पार्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार