रुकुम टिपर दुर्घटना : ठूलीभेरी नदीमा बेपत्ता तीनै जनाको शव फेला, एक सातापछि सनाखत

सोमबार, १२ साउन २०८२

काठमाडौं : रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक दिनमा सुर्खेतमा फेला परेको हो ।

यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको थियो ।

टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका –२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको थियो ।

वडा नम्बर ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ जाँदै गरेको टिपर भेरी नदीमा खस्दा टिपरमा रहेका तीनै जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार