ताप्लेजुङ / भदौ ३ गतेबाट सदरमुकाम फुङलिङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सहभागिता जनाउने आठ टिमको टुङ्गो लागेको छ ।
सङ्घर्ष स्पोर्टिङ क्लव उकालीपानी (ताप्लेजुङ),वाईवाई पाँचथर फुटबल क्लव (पाँचथर), सगरमाथा स्पोर्टिङ क्लव (मोरङ), सलहेश यूथ क्लव (सिराहा), त्रिभुवन आर्मी क्लव (काठमाडौँ), बुटवल लुम्बिनी एफसी, झापा–११ र भारतको एक टिम सहभागी हुनेछन् ।
ताप्लेजुङ गोल्डकपको प्रथम संस्करणको विजेता रेडहर्ष इलाम सहितका टिम यसपटक गोल्डकपस्थल भानुजन माविको खेलमैदानमा देखिने छैनन् ।
लाखे जात्राका अवसरमा प्रतियोगिता सञ्चालन हुने गरेको समितिले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
लाखे जात्रा सञ्चालन समितिका सचिव टीकेन्द्र नेपालीका अनुसार दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगिताको विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको नगद पुरस्कार पाएका थिए ।
आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार यस पटकको प्रतियोगितामा एक विभागीय र स्थानीय सहित ८ वटा टिम प्रतिस्पर्धामा हुनेछन् ।
प्रतिक्रिया