उर्लाबारीमा छुरा प्रहारबाट २१ वर्षीय दाहालकाे हत्या

मंगलबार, १५ साउन २०८१
विराटनगर । माेरङकाे उर्लाबारीमा मंगलबार साँझ छुरा प्रहार गरेर एकजना युवकको हत्या गरिएकाे छ । छुरा हानेर उर्लाबारी नगरपालिका-४ का अन्दाजी २१ वर्षीय कुशल दाहालकाे हत्या गरिएकाे प्रहरीले जनाएको छ । उनीमाथि उर्लाबारी-५ मा साँझ ६ बजेतिर छुरा प्रहार भएकाे थियाे । गम्भीर घाइते भएका दाहाललाई उर्लाबारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाकाे बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकाे थियाे । उपचारका क्रममा चिकित्सकले राति ८ बजेतिर मृत घाेषित गरेकाे माेरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार घटना सुवास तामाङकाे घरमा भएकाे हाे । तामाङले नै दाहाललाई छुरा हानेको हुनसक्ने बस्नेतले बताए । उनका अनुसार अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएकाे खुलेकाे छ । घटनापछि उनी फरार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टाेलीले खाेजी तीव्र बनाएको छ । तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा दाेषी ठहर भएका थिए । व्यक्ति हत्या गरेर जेल परेका उनी कैद सजाय भुक्तान गरेर केही दिनअघि मात्रै छुटेको डीएसपी बस्नेतले बताए । उनका अनुसार दाहाल कसरी तामाङकाे घरमा पुगे र के कारणले घटना भएको हाे भनेर यकिन भइसकेको छैन । घटनामा तामाङकाे मात्रै कि अरुकाे पनि संलग्नता छ भनेर खुल्न बाँकी रहेकाे डीएसपी बस्नेतले बताए । उनका अनुसार अनुसन्धानपछि घटनाकाे कारण पत्ता लाग्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार