विराटनगर । विराटनगरको कोशी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार भएका छन् । विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद फरार भएको कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई गत मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर महानगरपालिका–८ घर भएका अहमद उपचाररत अस्पतालबाटै बिहीबार बिहान ५ः१५ बजेतिर फरार भएको जानकारी पौडेलले दिए । उनका अनुसार अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको निमित्त जेलर पौडेलको भनाइ छ ।
अहमदको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो । पौडेलका अनुसार शौचालय जाने बहानामा प्रहरीलाई धकेलेर फरार भएका कैदीको खोजी तीव्र पारिएको छ । उनको खोजतलासका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैँ खटिएका छन् ।
मातहतका विभिन्न युनिटबाट पनि प्रहरी परिचालन गरिएको छ । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी उच्च बनाइएको छ । शंकास्पद स्थानसहितका विभिन्न ठाउँमा प्रहरीले खोजतलास गरिरहे पनि फरार भएका कैदी भेटिएका छैनन् ।
घटनाको अनुसन्धान सुरु गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । प्रहरीको लापरबाही देखिए कारबाही हुने उनको भनाइ छ । बस्नेतका अनुसार शौचालन जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाएको र त्यही मौकामा कैदी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका अहमदले करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको पाइएको छ । त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको थियो ।
अहमदले अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गतेसम्म कारागारभित्र बस्नुपर्ने हुन्थ्यो । तर, कैद सजाय भुक्तान गर्न थालेको डेढ वर्ष पूरा नहुँदै उनी फरार भएका छन् । निमित्त जेलर पौडेलका अनुसार कोशी अस्पतालमा हाल मोरङ कारागारका ५ महिलासहित ८ जना कैदीबन्दीको उपचार भइरहेको छ । कारागारमा हाल ४ जना नाबालक र ९५ महिलासहित १ हजार १६ जना कैदीबन्दीलाई राखिएको जानकारी उनले दिए ।
प्रतिक्रिया