पहिरोको जोखिम बढेपछि लमजुङको मर्स्याङ्दी गाउँपालिका– ५ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि पुगेका छन् । तल्लो चिप्लाको गैरीगाउँको सिरानमा जमिनमा धाँजा फाट्ने, चिरा पर्ने र केही ठाउँमा पहिरोसमेत खसेपछि पहिरोको डरले त्रिपाल टाँगेर सुरक्षित स्थानमा सरेका छन् ।
१२ साउनको वर्षाले बस्तीमाथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि ४२ घरपरिवार गाउँनजिकैको डाँडागाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएको स्थानीय बबिता घलेले बताइन् ।
वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि १५–२० मिटर चिरा परेको र साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताए ।
भिरालो ठाउँमा बस्ती भएकाले गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट चार र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल स्थानीयलाई सहयोग प्राप्त भएको तथा अस्थायी रूपमा मकैबारीमा त्रिपाल टाँगेर स्थानीयका लागि राति सुत्न व्यवस्थापन भइरहेको वडाध्यक्ष घलेले बताए ।
भदौसम्म जोखिम रहने भएकाले स्थानीयलाई मकैबारीमा त्रिपाल टाँगेर राखिएको छ । यो गाउँमा १८० स्थानीय छन् । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेपछि अस्थायी रूपमा बस्नलाई त्रिपाल व्यवस्थापन गरिएको र स्थानीय त्रिपाल टाँगेर सुरक्षित स्थानमा बस्न थालेको बताए ।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया