इटहरी : सुनसरीको इटहरीस्थित टोल विकास लघु उद्यम सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिवार धूमधामका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षतामा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक ख्यामप्रसाद तिम्सिना प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
सहकारीले आफ्ना सदस्यलाई उत्पादनमुखी र आयमूलक गतिविधिमा जोड दिँदै आएको छ। हाल सहकारीमा ८६९ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी २ करोड ५३ लाख ७४ हजार रुपैयाँ पुगेको छ।
स्थापना काल (२०६७ पुस २६) मा भने सदस्य सङ्ख्या १४९ र शेयर पूँजी २२ लाख ३५ हजार रुपैयाँ मात्र रहेको थियो।
यसै अवसरमा सहकारीले उत्पादन गरेको ‘सहकारी ब्रान्ड’ तोरीको तेल औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
साथै सहकारीले सहकारी ब्रान्डकै चियापत्ती प्याकेजिङ, कोदो–फापरको पीठो, सातु उत्पादन, तोरिमिल स्थापनासहित कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएको जानकारी पनि दिइयो।
साधारणसभामा सल्लाहकार टङ्कप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष टङ्कप्रसाद पोखरेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने लेखा समितिका संयोजक तुलसीप्रसाद कोइरालाले लेखा तथा सुपरिवेक्षण परीक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सचिव लेखनाथ अधिकारीको सञ्चालनमा सम्पन्न साधारणसभामा सहकारीका सल्लाहकार, पदाधिकारी, सदस्य तथा शेयर सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। साधारणसभामा सहकारीका तर्फबाट प्रत्येक शेयर सदस्यलाई उपहारस्वरूप १ लिटर तोरीको तेल र आधा केजी चियापत्ती वितरण गरिएको थियो।
प्रतिक्रिया