कोरला नाका स्तरोन्नति गर्न अध्यक्ष ढकालको आग्रह

आइतबार, १२ असोज २०८२

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङस्थित नेपाल–चीन सीमा नाका कोरलालाई स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । 

महासंघको गण्डकी प्रदेश समिति र जिल्लास्तरीय उद्योग वाणिज्य संघका नेतृत्वसँगै कोरला नाकाको निरीक्षणपछि अध्यक्ष ढकालले उक्त नाकालाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिको केन्द्र बनाउन सकिने भन्दै पूर्वाधार, भन्सार र अध्यागमन सेवा विस्तार तत्काल आवश्यक भएको बताए । 

ढकालका अनुसार, १२ दिनअघि मात्रै सुरु गरिएको भन्सार कार्यालयमार्फत रु १ अर्ब ४० करोड राजस्व संकलन भइसकेको छ, जसले यस नाकाको सम्भावना देखाउँछ । उनले चीनको ल्हासाबाट कोरला एकैदिनमै पुग्न सकिने भएकाले चिनियाँ पर्यटकलाई नेपाल ल्याउन सजिलो हुने र मानसरोवर यात्रामा समेत छोटो बाटो बन्ने जानकारी दिए । 

उनले माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकबाट असुल्दै आएको ५०० अमेरिकी डलर शुल्क अव्यवहारिक भएको भन्दै तत्काल पुनर्विचार गर्न पनि माग गरे ।

ढकालले कोरला वरिपरि पूर्वाधार निर्माण कठिन हुने भएकाले केही तल निचुङमा स्थायी संरचना निर्माण गर्न सकिने सुझाव दिँदै, कोरला नाका र कालीगण्डकी करिडोरलाई दिगो बनाउन निजी क्षेत्र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार