विराटनगर : विराटनगरका सक्रिय पत्रकार एवम् प्रदेश खबरका उपसम्पादक किशोर बुढाथोकीसहित विराटनगरका ४ जना पत्रकारलाई बिहीबार विराटनगरमा विशेष अवार्ड प्रदान गरिएको छ । बुढाथोकी प्रदेश खबरमा पनि आबद्ध छन् ।
२ दशक अघिदेखि पत्रकारितामा क्रियाशील बुढाथोकी प्रदेश खबर डटकमका उपसम्पादक प्रमुख हुन् । विकल्प एन अल्टरनेटिभले बुढाथोकीसहितका पत्रकारलाई उत्कृष्ट लेखनवृत्ति (फेलोसिप) स्वरूप अवार्ड प्रदान गरेको हो ।
इन्टरनेसनल अलर्टसँगको सहकार्यमा विराटनगरमा विशेष कार्यक्रमको आयोजना गरेर विकल्पले जनही ५० हजार रुपैयाँ राशिको अवार्ड प्रदान गरेको छ ।
अवार्ड प्राप्त गर्ने अन्य पत्रकारमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहेका छन् । विकल्पले आह्वान गरेको खुला आवेदनको आधारमा उत्कृष्ट ४ जनालाई छनोट गरेर अवार्ड प्रदान गरेको हो ।
अवार्ड वितरण कार्यक्रममा विकल्पका अध्यक्ष एवं अर्थशास्त्री प्रा.डा. भेषप्रसाद धमलाले पत्रकारहरू समाजमा रहेको विकृति, विसंगतिविरुद्धका अभियन्ता भएको बताए । उनले आफ्नो सदैव पेसामा गम्भीर हुनुपर्ने उनको भनाइ छ । धमलाले पत्रकारको कलमप्रति समाज विश्वस्त हुने हुँदा समाजमा सकारात्मकता वा नकारात्मकता विस्तारमा पत्रकारको ठूलो भूमिका हुने धारणा राखे ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विकल्पले पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै श्रमजीवी पत्रकारलाई थप जिम्मेवार र सशक्त बनाउने उद्देश्यले फेलोसिप हस्तान्तरण गरेको भन्दै संस्थाको प्रशंसा गरेका छन् ।
खड्काले आगामी दिनमा समेत महासङ्घले विकल्पसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रमा थप काम गर्नेमा आशावादी रहेको बताए । उनले आफ्नो क्षमता बढाउन पत्रकारलाई आग्रह गरेका छन् । पत्रकारिता गरेर समाजलाई सुसूचित गर्दै जीवन निर्वाह गर्न सकिने उनको भनाइ छ ।
विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले विकल्पले विगत १० वर्षदेखि जीविकोपार्जन, स्वतन्त्रता, गरेर खान पाउनु पर्ने जस्ता अधिकारका लागि काम गर्दै आएको जानकारी दिए । अधिकारीले विकल्पले फेलोसिपको माध्यमबाट थप जिम्मेवार र सशक्त पत्रकारिता गर्न बल पुग्ने आशा लिएको धारणा व्यक्त गरे ।
अवार्ड हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अवार्ड प्राप्त गर्ने पत्रकारहरूले समेत आफूले गरेको कामबारे प्रस्तुति दिएका थिए ।
विकल्पकी कार्यक्रम संयोजक रानु साहका अनुसार विकल्पले गत चैतमा खोज पत्रकारिताका लागि नयाँ–नयाँ प्रविधिको प्रयोगबारे मोरङ र सुनसरीका करिब ६० जना पत्रकारलाई २ चरणमा क्षमता विकास तालिम दिएको थियो ।
उक्त तालिममा सहभागी भएकामध्येबाट आवेदनका आधारमा ४ जनालाई अवार्ड प्रदान गरिएको साहले बताइन् ।
प्रतिक्रिया