इटहरीको शान्तिनगरमा जंगली हात्तीको जहिल्यै त्रास, मध्यरातमा दुईवटा घर भत्कायो

मंगलबार, २९ साउन २०८१
इटहरी : इटहरीको शान्तिनगर क्षेत्र जंगली हात्तीका कारण जहिल्यै त्रासमा रहँदै आएको छ । सधैँको त्रास समाधान नहुँदा दैनिकजसो हात्ती बस्तीमा पस्न नदिन यहाँका बासिन्दा जाग्राम नै बस्दै आएका छन् । यसैबीच गएराति जंगली हात्तीले दुईवटा घर भत्काएको छ । इटहरी २ शान्तिनगरस्थित अृमतबहादुर मगर र उनका छिमेकी श्रेष्ठ थरीका व्यक्तिको घर हात्तीले भत्काएको स्थानीय रोशन अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार राति ८ बजेदेखि नै आएका हात्तीका बथानले मध्यरातका् समयमा घर भत्काएको हो । एउटा पक्की भुइँ घर र अर्को कच्ची भुइँ घर भत्काएको उनले बताए । ‘घर भत्काएर धान, चामल खाएको पाइयो । मानवीय क्षति भने भएन,’ उनले भने, ‘आजकाल रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ गएराति एक दर्जन बढीको संख्यामा हात्तीका बथान मानव बस्ती पसेका थिए । स्थानीयबासीले धपाएपनि बिहानको राति भने घर भत्काएको बताइएको छ । अधिकारीकाअनुसार उक्त क्षेत्रमा बर्सेनि हात्तीका बथान आउने र क्षति गर्ने गरेका कारण प्रशासनसँग सहयोगको अपिल गरिएको छ । उक्त क्षेत्रमा हात्तीको जोखिम निकै भएका कारण तरहराको पानीपियादेखि शान्तिनगरको सरस्वती टोल विकास क्षेत्रसम्म ‘टावर लाइट’ लगाउन अवाश्यक रहेको उनले बताए । ‘टावर लाइट र सोलार फेन्सिङ लगाउँदा हात्ती आएको देखिन्थ्यो । जसले गर्दा मानवीय क्षतिसमेत हुन नदिन सजक हुन पाइन्थ्यो,’ उनले भने, ‘हामीले यसबारे इटहरी उपमहानगरलाई पनि जानकारी गराएका छौँ । टावर लाइट र सोलार फेन्सिङ हुँदा दीर्घकालीनसम्म सहज हुनेथियो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार