मोरङको बेलबारीमा हात्तीको छावा मृत भेटियो

मंगलबार, २९ साउन २०८१
विराटनगर : मोरङको बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार (आज) बिहान जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ । स्थानीयले छावा मृत भेटिएको भनेर बिहान ५ः३० बजेतिर प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख, वन अधिकृत दिपेशकुमार मिश्रले अन्दाजी २–३ वर्षको जस्तो देखिने पोथी हात्ती मृत फेला परेको बताए । स्थानीय विनोद थापाको टिक बगानमा हात्तीको छावा मृत फेला परेको उनले बताए । उनकाअनुसार छावाको मृत्युको कारण खुल्न बाँकी रहेको छ । उनका अनुसार हात्तीको छावा मारिएको हो कि आफैं मरेको हो भनेर खुल्न सकिरहेको छैन । मारेको कुनै संकेत प्राप्त नभएको र बाहिरबाट हेर्दा चोटपटक नदेखिएको उनले बताए । मिश्रले घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको र अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुने बताए । ‘कोशी टप्पुबाट अनुसन्धानका लागि विज्ञको टिम आउँदै छ,’ उनले भने, ‘पोस्टमार्टम गरेर रिपोर्ट आइसकेपछि मात्रै छावाको मृत्युको कारण प्रष्ट हुन्छ ।’ अहिले घटनास्थललाई वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुरक्षित राखेको छ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०–१२ वटाको संख्यामा हात्ती देखा परेको स्थानीयले जनाएका छन् । बेलबारी क्षेत्रमा पछिल्लो एक सातायता नियमितजसो हात्तीको हुल देखा परिरहेको छ । हात्तीले सामान्य क्षति पनि गरिरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालका अनुसार हात्तीले स्थानीयको बालीनाली खाइदिने र नष्ट गर्ने गरेको हो । ‘बेलबारी क्षेत्रमा १ सातायता नियमित जंगली हात्ती देखा परिरहेका छन्,’ उनले भने, ‘घटनास्थलनजिक पनि सोमबार राति हात्तीको हुल देखा परेको जानकारी स्थानीयले गराएका छन् ।’ त्यही हुलमा रहेको छावा मृत फेला परेको अनुमान रहेको दाहाल बताउँछन् ।योसँगै मोरङमा ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन् । सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत भेटियो थियो । सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत फेला परेको थियो । धमाधम हात्ती मृत फेला पर्न थालेपछि संरक्षणकर्मीहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार