इटहरी : मोरङको बेलबारी नगरपालिका ३ करमडाँडामा मंगलबार बिहान मृत फेला परेको हात्ती करेन्ट लागेर मरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मंगलबार बिहानको राति जिल्लाको बेलबारीमा मृत फेला परेको हात्ती करेन्ट लागेर मरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख, वन अधिकृत दीपेशकुमार मिश्रका अनुसार करिब तीन वर्षको पोथी हात्ती मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त हात्ती करेन्ट लागेर मृत फेला परेका कारण थप अनुसन्धान अगाडि बढाइएको छ । करेन्ट थाप्ने एकजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा बेलबारी ३ बस्ने ४६ वर्षीय तेजबहादुर राई रहेका छन् । ‘हात्तीको पोस्टमार्टम रिपोर्टपछि बाँकी सबै कुरा खुल्छ,’ वन अधिकृत मिश्रले भने, ‘पोस्टमार्टम गरेपछि हात्ती जुन ठाउँमा मरेको हो, त्यही ठाउँमा अन्त्यष्टि गरिएको छ ।’
उनका अनुसार मंगलबार नै कोसी टप्पु वन्यजन्तु आरक्षमा मृत फेला परेको हात्तीको पोस्टमार्टम गरिएको छ । न्याउरी मुसो मार्नका लागि थापिएको करेन्ट लागेर उक्त हात्तीको मृत्यु भएको उनले बताए ।
‘हात्तीको छावा कसैले मारेको हो कि होइन वा यसमा कोही दोषी छन् कि छैनन् भन्नेबारे अनुसन्धानबाट खुल्छ,’ उनले प्रदेश खबरसँग भने, ‘पक्राउ परेका पुरुषले त्यस ठाउँमा न्याउरी मुसाका लागि करेन्ट थापेको भन्ने कुरा गर्नुभएको छ ।’
हात्ती मृत भेटिनु गम्भीर विषय भएकाले अनुसन्धानको पाटो पनि गम्भीर नै हुने उनले बताए । ‘पक्राउ परेकामाथि मुद्धा चल्छ । अरु कोको यसमा संलग्न छन् भन्नेबारे पनि विस्तारै खुल्ला,’ मिश्रले भने, ‘अहिले नै कोही दोषी वा निर्दोष भन्ने खुलेको छैन ।’
उनका अनुसार यस क्षेत्रमा पछिल्लो समय हात्तीले ‘मोभमेन्ट’ बढाइरहेको छ । मोरङमा मात्रै दर्जन बढीको संख्यामा हात्तीका बथान आउने गरेका छन् ।
उनले थपे, ‘पछिल्लो समय मोरङ जिल्लामा हात्तीले मोभमेन्ट बढाइरहेको छ । खासमा भन्ने हो भने मोरङमा हात्तीले छाडेकै छैन ।’ खासगरी मोरङको पनि बेलबारीमा नै हात्तीको ग्राफ बढेको उनले सुनाए । यकिन नभएपनि १२ देखि १८ वटासम्म हात्तीका बथान आउने गरेको मिश्रको भनाइ छ ।
‘यस क्षेत्रमा हात्तीले आफ्नो मन परेको आहारा पाउने भएका कारण पनि यो ठाउँ नछाडेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार दिउँसो ४ बजेतिर वन अधिकृत मिश्रको टोलीसहित इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक नरेन्द्र पाण्डेको कमाण्डमा राईलाई पक्राउ गरिएको हो ।
‘न्याउरी मुसा मार्नका लागि छाडेको करेन्ट लागेर हात्ती मृत फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी बस्नेतले भने, ‘पक्राउ परेकालाई हामीले वनकै जिम्मा लगाएका छौँ । अनुसन्धान वनकै जिम्मामा छ ।’
वन कार्यालयले अनुसन्धान गरी कोही दोषी भए कानुन बमोजिम कारबाही गर्ने उनको भनाइ छ ।
मोरङमा सात महिनाको अवधिमा तीन हात्ती मृत भेटिए
पछिल्लो समय कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको बथान बाक्लो रूपमा देखा पर्न थालेको छ । खासगरी जंगली वन्यजन्तुको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेपनि पछिल्लो समय अकालमै हात्तीले ज्यान गुमाउने गरेका छन् ।
यसैबीच मोरङमा मात्रै सात महिनाको अवधिमा तीनवटा हात्ती मृत फेला परेका छन् । मंगलबार हात्तीको छावा मृत भेटिएसँगै यो संख्या तीन पुगेको हो । ३० जेठ २०८१ मा जिल्लाको सुन्दरहरैँचा नगरपालिका ६ स्थितमा भाले हात्ती (छावा) मृत फेला परेको थियो ।
यसैगरी १६ पुस २०८० मा सुन्दरहरैँचा १० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्षको हात्ती मृत फेला परेको थियो । उक्त हात्ती भने गोली हानेर मारेको अवस्थामा फेला परेको थियो ।
यी सबै हात्ती भने बिहानको समयमा नै स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । खासगरी रातको समयमा हात्ती करेन्टको पासोमा पर्ने, गोली हान्ने तथा हात्ती मार्नका निम्ति विभिन्न आपराधिक क्रियाकलाप भइरहेपनि नियामक निकाय भने मूकदर्शकजस्तै बनिरहेकोसमेत आरोप लाग्ने गरेको छ । त्यसो त यसरी पछिल्लो समय धमाधम हात्ती मृत फेला पर्न थालेपछि संरक्षणकर्मीहरू चिन्तितसमेत बन्दै आएका छन् ।
हात्ती सम्बन्धी जानकार झापाको मेचीनगरका अर्जुन कार्कीले पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरण गर्न आवश्यक रहेको बताए । उनका अनुसार पूर्वी नेपालमा आउने सबैजसो हात्ती भारततिरबाट प्रवेश गरेका हुन् ।
‘भारतबाट एकैसाथ दर्जनौँको संख्यामा हात्ती नेपाल प्रवेश गर्ने गरेका छन्,’ मेचीनगर नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका कार्कीले भने, ‘हात्तीसँग आक्रोशित र रिस राख्नुहुँदैन । अब हात्तीलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’
मेचीनगर तथा बाहुनडाँगी क्षेत्रमा हात्ती आगमन सूचना केन्द्र स्थापना, हात्तीसँग मैत्रीपूर्ण व्यवहार र घुलमिल लगायतका विषयमासमेत आफूहरूले सचेतना फैलाइराखेको उनले बताए ।
खासगरी हात्तीले धान, मकै, केरा, उखुजस्ता बाली मन पराउँछन् । एउटा हात्तीले एक दिनमा करिब एक सय पचास केजीसम्म आहारा खान सक्ने क्षमता राख्ने जानकारहरू बताउँछन् । सो कारण पछिल्लो समय जंगल मासिदैँ जानु र जंगलमा हात्तीले खानेकुरा नपाउँदा मानव बस्तीमा पस्ने गरेका छन् ।
तर, मानिसहरूले भने हात्तीको छेउमै गएर जिस्किने, चलाउने तथा ढुंगामुढाले हान्नेजस्ता क्रियाकलाप गर्दा हात्तले आक्रमण गरी ज्यानै लिन सक्ने जानकारहरूको भनाइ छ ।
यो पनि – मोरङको बेलबारीमा हात्तीको छावा मृत भेटियो
प्रतिक्रिया