इटहरी : ‘एकदिन भए पो अरुलाई बोलाएर सुत्नु, हरेक दिन कसरी चित्त बुझाउनु ? छट्पटीले निद्रा लाग्दैन । बिर्सिन खोज्छु, फेरि सम्झना आइहाल्छ ।’ मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की रामसरी चौधरी कहालीलाग्दो दुःखको बयान गर्नुअघि नै भन्छिन् ।
११ असार २०८१ मा इटहरी र सुन्दरहरैँचामा पर्ने बूढीखोलामा आएको बाढीमा दुई बुहारी र एक देउरानी गुमाएकी रामसरी अझै आफूलाई सम्हाल्न सकेकी छैनन् ।
त्यसदिन बिहान करिब ९ बजेतिर रामसरीकी जेठी बुहारी ३० वर्षीया फूलकुमारी, माइली बुहारी २३ वर्षीय स्वस्तिका, कान्छी बुहारी २३ वर्षीया प्रेमकला र देउरानी ६४ वर्षीया असरावती चौधरी स्थानीय बूढीखोलामा माछा मार्न र दाउरा टिप्न घरबाट गएका थिए । सोही क्रममा बूढीखोलामा आएको बाढीले चारैजनालाई बगायो ।
रामसरीकी कान्छी बुहारी प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँमा सोहीदिन दिउँसो १२ बजेतिर शव फेला परेको थियो । माइली बुहारी स्वस्तिका भने पौडी खेलेर बाँचेकी थिइन् भने जेठी बुहारी फूलकुमारी र देउरानी असरावती भने बाढीको भेलसँगै बगेका थिए । उनीहरू हालसम्म बेपत्ता छन् ।
‘बुहारीलाई बाढीले बगाएपनि, अझै फर्किएर आउँछ कि जस्तो लाग्छ । आने आश भने मरेको छैन,’ रामसरी भन्छिन्, ‘मजदुरी गरेर छोराहरूले घर गरिखाएका थिए । त्यो दिन खै के आइलाग्यो ।’
तत्काल मृत फेला परेपछि प्रेमकलाका श्रीमान सन्दीप चौधरी वैदेशिक रोजगारबाट आएर पुनः फर्किइसकेका छन् । ‘छोरो (सन्दीप) विदेशबाट आएर काजकिरिया गरेर फर्कियो । एउटा नाति थियो, अहिले मावलमा बस्छ,’ गहभरी आँशुसहित उनी भन्छिन्, ‘अब छोरो पनि विदेश गयो । नानीको बिचल्ली भयो । त्यसले बुबाको साथ पनि पाएन, आमा बिनाको टुहुरो भयो ।’
उनी आफ्नो नाति सम्झदाँ कारुणिक बनिन् ।
त्यतिमात्रै होइन । एक बुहारी र एक देउरानी बाढीको भेलसँगै बगेर गएपछि उनी अझै आउने आश मारेकी छैनन् । ‘कतैबाट आउँछ कि, कसैले निकाल्दियो कि भन्ने मनमा हुन्छ,’ उनले सुनाइन्, ‘खोज्न जाऔँ कि जस्तो हुन्छ । कतै भेट्छ कि, कतै छ कि जस्तो हुन्छ । खाली उतैतिर मन जान्छ ।’
यसअघि आफ्ना श्रीमान गुमाएपनि छोराबुहारीको साथमा बस्दै आएकी उनले अहिले भने मन बुझाउनै नसकेको सुनाउँछिन् ।
‘अस्ति सम्धिनीको घरमा नातिलाई हेरेर आएँ, नातिले आमा बोलाइदिनु भन्छ । घर आएपछि रोएर रात बित्यो,’ रामसरीले दुःखको बयान गरिन्, ‘श्रीमान बितेको कुरा बिर्सिदैँ गएको थिएँ, बुहारीहरूको साथ थियो । तर, बुहारीहरूले नै छाडेर गैदिइहाल्यो । धेरै दुःख पाइयो जिन्दगीमा ।’
उनले एक–दुईदिन स्थानीयले शान्तवना दिएको भएपनि सरकारले भने नहेरेकोमा दुखेसो व्यक्त गरिन् । स्थानीय सरकारले घटनामा आएर राहत दिने वचन दिएपनि हाल भने बेवास्ता गरेकोमा उनको गुनासो छ । ‘घाउमा मह्लम लगाउने कोही छैन, गरिबको केही नचल्दोरहेछ ।’ उनले थपिन् ।
[caption id="attachment_58803" align="alignnone" width="988"] रामसरी चौधरी ।[/caption]
रामसरीका देवर हरिनारायण चौधरीले भने वडा कार्यालय र नगरपालिकाले मृत्यु दर्तासमेत नबनाइदिएकोमा दुःख बिसाए । आफ्नी श्रीमती ६४ वर्षीया असरावतीलाई असार ११ गते बाढीले बगाएपछि उनले गत साउन १० गतेदेखि काजकिरिया गरे ।
आफूहरूले एक महिनासम्म बूढीखोला बग्ने सबै क्षेत्र र भारतसम्म पुगेर खोजी गरेपनि कहीँ पत्ता नलागेपछि काजकिरिया गरेको उनले सुनाए ।
‘गाउँ–समाजलाई राखेर के गरौँ भन्ने सल्लाह भएपछि काम गरेको हुँ,’ उनले भने, ‘तर हालसम्म वडा कार्यालयले मृत्यु दर्तासमेत दिएको छैन ।’
घटना भएको दिन हरिनारायण सुनसरीको खनारस्थित कच्चा फ्याक्ट्रीमा काम गर्दैथिए । श्रीमतीसहित बुहारीहरूलाई बाढीले बगाएको सुनेपछि उनी हतासिएर घर आइपुगे । त्यसको एक महिनासम्म खोज्दासमेत नभेटेपछि किरिया गरिसकेपछि पटकपटक मृत्यु दर्ता बनाइदिन वडामा धाएपनि हालसम्म नपाएको सुनाए ।
‘बाढीले बगाएको र नभेटिएको भनेर संसारलाई थाहा छ । दुनियाँतिर गएर कुरा राखेँ । तर मेयर, उपमेयर, वडाध्यक्ष सबै भोटका लागि मात्रै रहेछन्, गरिबका लागि होइनरहेछन्,’ उनले थपे, ‘अहिलेसम्म केही राहत पाएका छैनौँ । बरु राहत चाहिएन, मृत्यु दर्ता मात्रै भएपनि हुन्छ भनेको हो । तर, त्यो पनि पाइएन ।’
मृत्यु दर्ताका लागि वडाध्यक्षसहित कर्मचारीहरूले भने सुनेकौ नसुनै गर्ने उनको दुखेसो छ ।
उनी घटना भएको दिनदेखि काममा जान सकेका छैनन् । बिहान ६ बजे गएर राति ८ बजे आइपुग्ने भएपनि श्रीमतीलाई बाढीले गुमाएपछि भने उनी काममा फर्कन नसकेको सुनाउँछन् ।
‘आफैं हराएको वा आफैँ हिँडेको भए, घरप्रति नराम्रो भएको भए, झगडा गरेर हिँडेको भए पो मृत्यु दर्ता बनाइदिन आनाकानी गर्नु,’ उनले भने, ‘बाढीले बगाएर नभेटिएपछि हामीले परम्पराअनुसार काम सकेका छौँ । तर सरकारले हेरेन । पीडा आफैसँग राखेको छु ।’
उनले भारतसम्म खोजी गरेपनि पत्ता नलागेपछि भेटिने आश नराखेर काजकिरिया गरेको बताए ।
हरिनारायणले थपे, ‘राहत दिने भनेपनि सरकारले अहिलेसम्म दिएको छैन, बैँकमा राखेको पैसा भए पो झिकेर ल्याउनु । राहत दिए पनि ठीकै छ, नदिएपनि ठीकै छ । तर, मृत्यु दर्ता दिनुपर्छ भन्ने हाम्रो माग हो ।’
[caption id="attachment_58804" align="alignnone" width="1045"] पीडित हरिनारायण चौधरी र उनको परिवार ।[/caption]
मोरङको सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीमा बाढीले एकै परिवारका तीनजना गुमाएपछि (एक मृत फेला, दुई डेढ महिनादेखि बेपत्ता) भएपछि बज्रपात परेपनि स्थानीय र प्रदेश सरकार भने मूकदर्शकजस्तै बनेको छ ।
अझ संघीयता कार्यान्वयनको अभ्याससँगै स्थानीय र प्रदेश सरकारले विपद् नियन्त्रण र विपद्मा परी मृत्यु, घाइते वा विस्थापित भएका परिवारलाई तत्कालै राहत दिने र घाउमा मल्हमपट्टी लगाउने बताउँदै आएको छ । तर, यो कुरा चर्चा पाउनका लागि र आम मानिसमा देखावटीका लागि मात्रै गरेजस्तो हुँदै आएको बताउँछन्, स्थानीय तेजबहादुर खड्का ।
गरिबको नजरमा सरकारले कुनै अनुभूति हुने काम नगरेको उनको भनाइ छ । उनले भने, गरिबको बोलिदिने कोही छैन । ‘मृत्यु दर्ता पाउनुपर्छ भनेर पटकपटक वडामा गएपनि पाउन नसक्नु नै दुःखद् कुरा छ,’ खड्काले भने ।
घटना भएको दिन घटनास्थलमा भेटिएका सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका निम्ति पालिकास्तरीय बैठक बस्ने बताएका थिए । तर, हालसम्म पीडितले भने कुनै राहत पाएका छैनन् ।
वडाध्यक्ष चौधरीले भने, ‘यस विषयमा नगरमा पनि कुरा उठ्यो, प्रक्रिया पूरा गरेर मृत्यु दर्ता बनाइदिनुपर्छ भन्ने छ ।’ बेपत्ताको राज्यले घोषणा गरिसकेपछि मात्रै दिन मिल्ने उनले बताए ।
‘हामीभन्दा माथ्लो निकायको कुरा हो । मेयर साबले सिडिओसँग पनि कुरा गरेको अवस्था छ,’ उनले भने, ‘जनही यति नै दिने भनेर निर्णय नभएपनि राहत दिने निर्णय भएको छ । खाता बन्द भएका कारण नदिएको हो, खाता सञ्चालन भएपछि राहत दिन्छौँ ।’
सरकारको नजर पहुँचवालाकोमा मात्रै पर्ने तर गरिब र बोल्न नसक्नेहरूको आवाज भने सधैँ दबाइने हुँदा सरकार भएको, नभएको अनुभूति नै नहुने पीडितहरूले बताउँदै आएका छन् ।
यो पनि – बूढी खोलाको बाढीले बज्रपात -ज्यान लियो, खुसी खोस्यो
प्रतिक्रिया