विराटनगर : विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ ।
विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् ।
जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो । महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो ।
त्यसअघि विद्यालयहरूले आफूखुसी छात्रवृत्ति दिँदै आएका थिए । उनीहरूले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए ।
लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गरारुन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताए ।
‘वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन् भन्ने महानगरको उद्देश्य हो,’ उनले भने, ‘त्यही भएर गत वर्षदेखि हामीले छात्रवृत्तिका लागि परीक्षा लिन सुरु गरेका हौं ।’ मेयर कोइरालाले कक्षा ११ को जस्तै अन्य कक्षाका लागि पनि महानगरले छात्रवृत्तिको परीक्षा लिने योजना गरेको बताए ।
विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि एक हजार दुई सय सात जनाले परीक्षा दिएका छन् । जसमध्ये सात सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नका लागि ३५ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गका लागि ५ प्रतिशत, मुस्लिमका लागि ५ प्रतिशत र अन्यका लागि ५ प्रतिशत छुट्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए ।
उनका अनुसार एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुनेछ ।
प्रतिक्रिया