काठमाडौँ : काठमाडौँमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ मा बस्ने २८ वर्षीय गोरे नेवा खड्की र सिन्धुली कमलामाई नगरपालिका ४ का ४२ वर्षीय राजु साही रहेका छन् ।
रामेछाप घर भई काठमाडौँमा बसेर बालिकालाई उनीहरूले यौन व्यवसायमा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले तीन दिनअघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार नेवा खड्गीले कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेष्ट हाउसमा बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको सूचना प्राप्त भएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।
अनुगमनको क्रममा पाँच जना बालिकाहरूलाई यौन व्यवसायमा लगाउने गरेको पाइएको मिश्रले जानकारी दिए ।
प्रतिव्यक्ति पाँच सय रूपैयाँ दिने भनेर ग्राहकहरूसँग जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने अनुसन्धानमा खुलेको उनले बताए । होटल सञ्चालक नेवा खड्गीले भने १५ सय र रातको समयमा ८ हजारसम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
प्रतिक्रिया