इटहरीमा दुई महिनाअघिको रिसिइबी फेर्न युवकमाथि खुकुरी प्रहार, सात जना पक्राउ

विहीबार, १३ भदौ २०८१
इटहरी : इटहरीमा दुई महिनाअघिको रिसिइबी फेर्न एक युवकमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुधबार इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै पुरानो रिसिइबी फेर्न घटना भएको खुलेको हो । इटहरी ६ स्थित कुवेर चौकमा बुधबार बुढाथोकीमाथि खुकुरी प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीकाअनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले बुधबार राति ९ः४५ बजेतिर पक्राउ गरेर बिहीबार म्याद थप गरेको छ । ‘पक्राउ परेकाहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप भएको छ,’ डीएसपी कार्कीले भने, ‘पुरानो रिसिइबी फेर्नका लागि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’ पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने २० वर्षीय लोप्सन गुरूङ, इटहरी १८ बस्ने २२ वर्षीय ज्योतिष चौधरी, सोही वडाका २२ वर्षीय मनीष चौधरी, इटहरी १७ बस्ने २१ वर्षीय गणेश चौधरी, सोही वडाका २१ वर्षीय आशिष चौधरी, इटहरी १३ बस्ने २६ वर्षीय उमेश कोइराला र इटहरी २० बस्ने १६ वर्षीय हिमेश राई रहेका छन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए । ‘पुरानो रिसिइबीका कारण घटना भएको देखिन्छ,’ डीएसपी कार्कीले भने, ‘दुई महिना अघिको रिसइबी फेर्नका लागि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’ बुधबार इटहरी ६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका उनीहरूले लखेटी–लखेटी बुढाथोकीमाथि प्रहार गरेको डीएसपी कार्कीले बताए । प्रहरीकाअनुसार खुकुरी प्रहारबाट बुढाथोकीको टाउको, हातको पाखुरा र शरीरका विभिन्न भागमा चोट लागेको छ । स्थानीय एक होटलमा खाजा खाइरहेको समयमा मोटरसाइकलमा आएका चारजना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट तत्काल फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार