विराटनगर : विराटनगरबाट मोटरसाइकल चोरीको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नहरु लागूऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–३ स्थित फूलबारी रेस्टुरेन्ट अगाडिबाट गत मंगलबार दिउँसो को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी गर्दै गर्दा चोरीमा प्रयोग गर्ने सामग्रीसहित महेशकुमार मेहता वारदातस्थलबाटै पक्राउ परेका थिए भने उक्त मोटरसाइकल लिएर फरार भएका अमन चौधरीलाई प्रहरीले बिहीबार बूढीगंगा गाउँपालिका–५ बाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले चौधरीको शरीर खातलासी गर्दा लागूऔषध फेला परेको बताए ।
चौधरीको साथबाट नाइट्राजेपाम १० ट्याब्लेट बरामद भएको उनको भनाइ छ । प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्नहरु लागूऔषध प्रयोगकर्ता रहेको खुलेको हो ।
चोरीमा संलग्नविरुद्ध मोटरसाइकल धनीले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएका छन् । दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया