विस्फोटमा दाजु बहिनीको मृत्यु भएपछि प्राङवुङ शोकमग्न,स्थानीय भन्छन् : ‘विस्फोटले पीडा बल्झायो’ 

शनिबार, १५ भदौ २०८१
प्राङवुङ (पाँचथर) : घरेलु ग्रिनेट विस्फोट हुँदा एका घरका दुई जना बाल बालिकाको ज्यान गएपछि पाँचथरको फालेलुङ गाउँपालिका शोकमा डुबेको छ । फालेलुङ ५ प्राङवुङको डाडाँगाउँ टोल स्थित आइतराज केरुङको घरमा बिहीबार अपराह्न विस्फोट हुँदा घाइते भएका ७ वर्षीय छोरा दिप्सनको उपचारका लागि झापाको वि.एन्ड सी. अस्पताल पु¥याउ‘दा र २ वर्षीया छोरी प्रिन्सा झापा लैजाने क्रममा बाटैमा ज्यान गएको थियो । मृतक दिप्सन र प्रिन्सा स्थानीय दिपेश र पूजा साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । विस्फोटमा आइतराजकै घरमा बस्दै आउनु भएका ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र स्थानीय दीपक राईका ७ वर्षीय दिप्सन राई घाइते हुनु भएको थियो । घाइते मध्ये पवनको कोशी अञ्चल अस्पताल विराटनगर र दिप्सनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विस्फोटमा परि घाइते हुनु भएका बाल बालिकाको अवस्था देख्दा बेहोस हुनु भएका दिप्सन र प्रिन्साका मामा सेसेहाङको झन्डै ६ घण्टा पछि मात्रै होस खुलेको पाँचथर अस्पतालका चिकित्सक सोम दंगालले बताउनुभयो । दुई बाल बालिकाको ज्यान लिनका साथै थप दुई जना घाइते हुने गरी विस्फोट भएको वस्तु घरेलु ग्रिनेट भएको पनि भण्डारीको भनाई छ । घरमा अभिभावक नभएका बेला विस्फोट हुँदा खेलिरहेका चार जना बाल बालिका घाइते भएका थिए । बारीमा काम गरिरहेका बखत मुस्लो सहित ठुलो आवाजमा केही पड्केको सुनेपछि दौडँदै आएर हेर्दा छोराछोरीलाई क्षत विक्षत अवस्थामा फेला पारेको ज्ञानबहादुर बताउनुहुन्छ । बाल बालिकाको निधन पश्चात् प्राङवुङ शोकमग्न भएको छ । मृतक दिप्सन कालिका मावि प्राङवुङ कक्षा ६ मा पढ्नुहुन्थ्यो । उहाँको निधनले शिक्षक,अभिभावक र उनका सहपाठी सँगै सबै विद्यार्थी शोकमग्न छन् । शोक मनाउन विद्यालयले शुक्रवार बिदा दिएको प्रधानाध्यापक किशोर गौतमले बताउनुभयो । फालेलुङ ५ का वडाध्यक्ष भरत खपाङ्गीले घट्नाले प्राङवुङका नागरिकमा शोक स‘गै त्रास सिर्जना गरिदिएको बताउनुभयो । विस्फोट भएको ग्रिनेट द्वन्दकालमा तत्कालीन सशस्त्र क्रान्ति गरेको माओवादीले छोडेको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । द्वन्द्व समयमा सो घर माओवादी कार्यकर्ताको राम्रो जमघट हुने थलोका रूपमा स्थापित थियो । घरधनी आइराज केरुङ पनि माओवादी नेता हुनुहुन्थ्यो । उहाँको परिवार २०६८ सालदेखि सदरमुकाम फिदिममा बस्दै आएको छ । प्राङवुङको घरमा भने ज्ञान बहादुर राईको परिवार बसोबास गर्छ । ज्ञानबहादुरका छोरा पवनसँग खेल्न गएका बखत विस्फोट हुँदा चार जना बाल बालिका घाइते भएका थिए । घर छेउमै अर्को एउटा ग्रिनेट बेवारिसे अवस्थामा फेला परेको थियो । सो ग्रिनेट नेपाली सेनाको रणशेर गणका प्राविधिकहरूले निष्क्रिय पारेको डिएसपी भण्डारीको भनाई छ । दुवै बम माओवादीले द्वन्द्व समयमा निर्माण गरेर छोडेको नेपाली सेना र नेपाल प्रहरीले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार