विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार (आज) दिउँसो ४ः३० बजेतिर एकै घरका दुई नाबालिकाको शव फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ का नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको हो । धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन् । केराघारीभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता श्रीमती र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए । उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ ।
श्रीमानसँग विवाद भएपछि नाबालिका छोरीहरूलाई लिएर राति ८ः३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बस्नेतले बताए । दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा शनिबार फेला परेको छ ।
दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले जानकारी दिए ।
उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ ।
‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा ‘मेटासिट’को बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’
छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, अनुसन्धानपछि र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेतले बताए ।
बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन् । प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको छ । ‘आफूसँग विवाद भएपछि दुई नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर अर्जुनले भनेका छन् ।
नाबालिकाहरू अहिले मृत फेला परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरू लिएर हिँड्ने र पुनः फर्किएर आउने गरेको पाइयो । वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन् ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट दुवै बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान लगिएको प्रहरीले जनाएको छ । अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया