सामाजिक सञ्जालमा चिनजान, ताप्लेजुङबाट धरान घुम्न आएपछि होटलमा लगेर बलात्कार

आइतबार, १६ भदौ २०८१
धरान: सामाजिक सञ्जालमा चिनजान भएपछि ताप्लेजुङबाट धरान घुम्न आएकी एक युवती बलात्कारको सिकारमा परेकी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ताप्लेजुङ घर भएकी अन्दाजी २१ वर्षीया युवती बलात्कारको सिकारमा परेकी हुन् । घटना शनिबार (हिजो)को हो । धरानको भानुचौकस्थित एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको सूचनाका आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ‘सामाजिक सञ्जालमार्फत चिनजान भएपछि धरानमा भेट्न आएको र घुमफिर गर्न आएको भन्ने प्रारम्भिक जानकारी आएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हामीलाई हिजो जानकारी भएपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरेका हौँ ।’ ती प्रहरी अधिकृतकाअनुसार धरान नै घर भएका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको छ । उनलाई आइतबार (आज) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । ‘होटलमै लगेर बलात्कार गरेको भन्ने सूचना आएका आधारमा हामीले नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘आज म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेका छौँ । घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।’ सामाजिक सञ्जालमार्फत चिनजान भएपछि ती युवती धरान घुम्न आएकी थिइन् । तर, सागरले भने ललाईफकाई होटलमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीमा दिएको जाहेरीअनुसार पीडित युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै सागरले होटलमा भेट गरौं भनको उल्लेख छ । होटलमा पुगेपछि पीडकले बलात्कार गरेको र कुटपिटसमेत गरेको जाहेरीमा उल्लेख छ । अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गरी घटनाबारे सुक्ष्म किसिमबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ‘पीडितलाई पनि धेरै कुरा सोधेर थप पीडा दिनुभएन । तसर्थ अहिले सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको छ,’ प्रहरी अधिकृत भन्छन्, ‘थप अनुसन्धानपछि बाँकी कुरा खुल्छ । घटनामा अरू पनि संलग्न छन् वा छैनन् भन्नेबारे पनि थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार