मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : दिनभर खोज्दा पनि फेला परिनन् आमा

आइतबार, १६ भदौ २०८१
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई नाबालिकाकी आमा अझैसम्म फेला परेकी छैनन् । स्थानीय र प्रहरीले आइतबार बिहानदेखि खोजी तीव्र पारेपनि फेला पार्न नसकेका हुन् । शनिबार साँझदेखि नै खोजी कार्य सुरु गरिएको थियो । दुई नाबालिका मृत फेला परेको केराघारी र नजिकै रहेको जंगलमा दिनभरि खोजी गर्दा पनि आमा नभेटिएको र अवस्था थाहा हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जानसक्ने सम्भावित स्थान र आफन्तहरू भएका सबै ठाउँमा खोजी गर्दा अवस्था पत्ता लाग्न सकेको छैन । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए । स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो । बसेको ठाउँबाट दुवै नाबालिका छोरीलाई लिएर हिँडेको भनिएकी आमा (अर्जुनकी श्रीमती) २९ वर्षीया अस्मिता पौडेल भने अझैसम्म फेला परेकी छैनन् । अर्जुन श्रीमती र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुन र श्रीमती अस्मिताबीच विवाद भएपछि दुई जना नाबालिका छोरीलाई लिएर अस्मिता शनिबार साँझदेखि हिँडेको प्रहरीले जनाएको छ । तर, अस्मिता अहिलेसम्म सम्पर्कविहीन छन् । घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने डीएसपी बस्नेतले बताए । यद्यपि, विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै उनले अनुसन्धान सकिएपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी दिए । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुवै शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार